बिपी राजमार्गमा सवारी दुर्घटना बढ्यो, दुर्घटनामा परी नौ जनाको मृत्यु ! — OSNepal

बिपी राजमार्गमा सवारी दुर्घटना बढ्यो, दुर्घटनामा परी नौ जनाको मृत्यु !

LC (KTM) January 09, 2022 0

सिन्धुली, २५ पुस- जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिपी राजमार्गअन्तर्गत सिन्धुली खण्डमा पछिल्लो समय सवारीसाधन दुर्घटना बढ्दै गएको छ । पछिल्लो ६ महिनामा सिन्धुली खण्डमा भएका सवारी दुर्घटनामा मात्रै नौ जनाले ज्यान गुमाइ सकेको ट्राफिक प्रहरीको तथ्यांक छ ।

चालकको लापरवाहीका कारण दिनहुँजासो सवारीदुर्घटना हुने गरेको स्थानीयको भनाइ छ । कमलामाई नगरपालिका–४ की शान्ति कार्कीका अनुसार चालकको लापवाहीले सर्वसाधारणसमेत मार पर्ने गरेका छन् । ‘चालकहरू तीव्र गतिमा सवारी चलाउँछन् । सवारीसाधन अनियन्त्रित भई दुर्घटना भएका समाचार पछिल्लो समय बढी नै सुनिने गरेको छ । चालकबीचको प्रतिस्पर्धाले धेरैजासो दुर्घटना भइरहेको छ,’ उनले भनिन् । पूर्वी नेपालबाट राजधानी काठमाडौं भित्रने माइक्रो बस, जिपका साथै मोटसाइकल, स्कुटरलगायतका सवारीसाधन तीव्र गतीमा चल्ने गरेका छन् । उनीहरूबीच आपसमा हुने प्रतिस्पर्धाले दिनहुँजसो दुर्घटना भइरहेको कमलामाई नगरपालिका–६ का स्थानीय सरोज धमलाले बताए ।

पूर्वी नेपालबाट आएका माइक्रो बसको तीव्र गति कै कारण यात्रा गर्न डर लाग्ने गरेको उनले गुनासो गरे । ‘पूर्वबाट आउने अधिकांश माइक्रो बस तीव्र गतिमा हुन्छन् । बिहान १० बजेपछि मोटसाइकलमा समेत यात्रा गर्न डर हुन्छ । काठमाडौं को चाडो पुग्ने भन्ने माइक्रो बसको प्रतिस्पर्धाले मोटरसाइकलसमेत मारमा पर्छन,’ उनले भने । दुर्घटना कम गर्न लागु गरिएको ‘टाइम कार्ड’ समेत प्रभावकारी नभएको उनको भनाइ छ ।

६ महिनामा नौ जनाको मृत्यु
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका अनुसार चालू आर्थिक वर्षमा बिपी राजमार्गस्थित सिन्धुली खण्डमा सवारी दुर्घटना परी नौ जनाको मृत्यु भएको छ । साउन, भदौ, असोज, कार्तिक, मंसिर र २० पुससम्म बिपी राजमार्गमा सवारी दुर्घटनामा परी ९ जनाले ज्यान गुमाइसकेका छन् ।

राजमार्गमा बढी मात्रामा मोटसाइकल, स्कुटर दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख कृष्ण क्षेत्रीले बताए । उनका अनुसार राजमार्ग साँघुरो र गुमाउँरो भएकाले तीव्र गतिमा चलाएका धेरै सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् । ‘चालककै लापरवाहीले दुर्घटना बढ्दै गएको छ, तीव्र गतिमा सवारीसाधन कुदाउँने, जथाभावी ओभरटेक गर्ने, मापसे गरी गाडी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम पालना नगर्दा दुर्घटना बढेको हो,’ उनले भने । सवारी दुर्घटनामा परेका चालकको उमेर २० वर्षभन्दा कमका धेरै रहेको उनले बताए ।

सवारी दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनचेतनाका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । साथै सवारी चेकजाँचलाई पनि कडाइ गरेको प्रमुख क्षेत्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर