बेंसीसहर–चामे सडकमा पर्यटक र सर्वसाधारणलाई सधैँ सास्ती — OSNepal

बेंसीसहर–चामे सडकमा पर्यटक र सर्वसाधारणलाई सधैँ सास्ती

LC (KTM) November 16, 2021 0

मनाङ, ३० कात्तिक – जिल्लामा यस समयमा चिसो सिरेटोसँगै हिमालको नजिकबाट निस्किएको घामको झुल्को हेर्न पर्यटक आउने गर्दछन् । पर्यटक आउने समयमा पनि सडकको सास्ती भोग्ने गरेका छन् । यस याममा आन्तरिक तथा बाह्य पर्यटक जिल्ला भित्रिन्छन् । विगत लामो समयदेखि नै यहाँ आउने पर्यटक र सर्वसाधारणले सडकको सास्ती व्यहोर्न बाध्य छन् । पर्यटक भित्रिने याममा सडक सञ्जालका कारण भित्रिनुपर्ने पर्यटक अझै आउन सकेका छैनन् ।

बिहानीको चिसो सिरेटोसँगै झुल्किएको घाम अन्नपूर्ण तेस्रोमा पर्दा हुम्डे–सब्जे बाटोबाट धीत मरुन्जेल नियाँल्नकै लागि यहाँ पर्यटक आउने गर्दछन् । मनास्लु, चिकित्सक हर्क पिक, बौद्ध हिमाललाई पछाडि पारेर मनाङको माथिल्लो भेग जाँदै गरेका पर्यटकका आँखाअघि दर्जन हिमालका दृश्य ठोक्किन्छन् । यसैमा रमाउन आउने स्वदेशी तथा विदेशी पर्यटक यतिबेला भरिभराउ छन् यहाँ । पिसाङ, गङ्गापूर्ण र तिलिचो हिमालको तस्बिर कैद गर्न जति सजिलो छ । त्यहाँसम्म पुग्न भने निकै अप्ठ्यारो सडक छिचोल्नु पर्दछ । कच्ची सडक सङ्घर्ष नगरे हिमाल र प्रकृतिसँग रमाउने सौभाग्य जो कसैको छुट्न सक्छ ।

हिमाल हेर्न काठमाडौँबाट आउनुभएकी गीता शर्मालाई लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ ताघ्रिङको स्याँगे घुम्तीमा पहिलो ठेस लाग्यो । “गाडीलाई टर्निङ पुगेन र फोर ह्विलले समेत तान्न नसकेपछि ओर्लिएँ । हामी निस्केपछि बल्लतल्ल गाडी अघि बढ्यो,” उहाँले भन्नुभयो, “बेंसीसहरदेखि मनाङ जोड्ने सडकको अवस्था कस्तो रहेछ भनेर स्याँगेमा आएपछि चिन्न पाएँ ।”

सडकखण्डअन्तर्गत लमजुङको च्याम्चे, मनाङको म्यादीभिर, खोत्रो, बगरछाप, तिमाङ उकालोमा सहजै गाडी चढ्दैन । काठमाडौँबाटै आउनुभएका सवारी चालक राम अवालेले बेंसीसहर–चामे सडकको धेरै ठाउँमा सङ्घर्ष गरेर माथिल्लो मनाङ पुगेको बताउनुभयो । “बाढीले सडक बगाएपछि नयाँ खोलिएको ट्र्याक र पुरानै ट्र्याकमा पनि समस्या रहेछ । फोर ह्विलसमेत जान गाह्रो रहेछ । फोर ह्वील गाडीमार्फत मुस्किलले मनाङ पुग्यौँ,” उहाँले भन्नुभयो, “अप्ठ्यारा सडक कटेर गएपछि मनाङ त स्वर्गै लाग्यो र ती सङ्घर्षहरु बिर्साउने रहेछ ।”

जिल्लामा गत जेठ १४ र ३१ गते रातिदेखिको वर्षाका कारण उर्लिएको बाढीपहिराले सडक र पुल, क्षतविक्षत बनाएको छ । अस्थायी ट्र्याक बनाएर दसैँअघि मात्रै सञ्चालनमा ल्याउन सकिएको थियो । सडक दसैँलगत्तै पुनः वर्षाका कारण बाढीपहिरा जाँदा दुई साता पूर्णरुपमा ठप्प भयो । तिहारको केही दिनअघि मात्रै खुलेको सडकमा यातायात सञ्चालनका लागि अस्थायी संरचना निर्माण गरिएका छन् ।

बेंसीसहरदेखि करिब २२ किलोमिटरमा पर्ने उक्त ठाउँमा ढलान गरिएको छ । ढलान कट्ने बित्तिकै ढुङ्गामाटोले भरिएको उकालोमा सहजै सवारीसाधन अघि नबढ्दा कतिपय हिँडेर जान बाध्य भएको वडाध्यक्ष सुमन गुरुङले बताउनुभयो । “यही ठाउँबाट बाटो लानुपर्ने बाध्यता हो । सिधै बाटो लान बस्ती उठाउनुपर्छ,” उहाँले भन्नुभयो, “यही बाटो राम्रो हुन्थ्यो । पटक–पटक वर्षा हुँदा बाढीपहिराले राम्रो हुनै दिएन ।”

ती अस्थायी संरचना पार गर्न सवारीसाधन, चालक र यात्रुलाई कठिनाइ भोग्नुपरेको छ । सडकमा सबैभन्दा बढी क्षति पुगेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार यातायात जसोतसो चलिरहेको छ । तर स्थायी रूपमा सञ्चालन गर्न अहिलेको तत्कालीन सडकभन्दा अर्को विकल्प खोज्नुपर्ने देखिएको छ ।

बेंसीसहरदेखि मनाङसम्म ६५ किलोमिटरमध्ये लमजुङ खण्डको म्यादीसम्म ३५ किलोमिटर छ । लमजुङ खण्डको स्याँगे, काप्रेभिर, अर्खलेबेंसीलगायत क्षेत्रमा बाढीपहिराले कठिन सडकको रुपमा पहिचान बनाएको छ । मनाङ खण्डको ३० किलोमिटरअन्तर्गत सिरानताल, निगालो घारी, खोत्रो, धारापानी, बगरछाप, तिमाङ उकालो, तिमाङखोला, कोतो क्षेत्रमा सवारी साधन सहजै पास गर्न सक्ने अवस्थामा छैन ।

मनाङका प्रहरी नायब उपरीक्षक सुवास खड्काले जसोतसो हिमाली जिल्ला मनाङसम्म सवारी सञ्चालन भए पनि सहज भने नरहेको बताउनुभयो । “अप्ठ्यारो सडकका कारण कतिपय सवारीसाधनले बीच बाटोमै अड्किनुपर्ने अवस्था छ । मोटरसाइकल सडकमै लड्छन् । सडकलाई सहज बनाउन आवश्यक छ,” उहाँले भन्नुभयो ।

जेठ ३१ यता आएको भीषण वर्षापछिको बाढीपहिराले बन्द माथिल्लो मनाङ जाने सडक भने चट्टान फोडेर निर्माण गरिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङभिर र भ्राताङदेखि तलेखुबीचको भिरमा बम विस्फोट गरी अस्थायी सडक बनाइएको छ । तर यो सडक निर्माण तथा मर्मतमा सरकारले हेरेन र आफैँ बनायौँ,” सांसद पोल्देन छोपाङ गुरुङले भन्नुभयो, “प्रदेश, सङ्घीय तथा स्थानीय सरकार कता लुक्यो कता ।”

बेंसीसहर–चामे सडकको मनाङ खण्ड भने डुम्रे–बेंसीसहर–चामे सडक योजनाअन्तर्गत निर्माण गरिएको छ । बाढीपहिराले क्षति पु¥याएको करिब १५ किलोमिटर सडकको मर्मत गरिएको योजनाका कार्यालय प्रमुख इन्जिनीयर अच्युतविलास पन्तले बताउनुभयो ।बेंसीसहर–चामे सडक मनाङको मेरुदण्ड हो । चक्रीय अन्नपूर्ण पदमार्गको ठाउँठाउँमा पहिरो गएपछि अहिले पर्यटक यही बाटो हिँड्ने गरेका छन् । यो सडकबाहेक अन्त कतैबाट पनि मनाङ आउने जाने बाटो छैन । “यो पर्यटकीय सिजन भएकाले स्वदेशी तथा विदेशी पर्यटक आगमन बढेको छ,” अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतम भन्नुहुन्छ, “पदमार्ग नहुँदा मोटरबाटो हुँदै पर्यटक आउन बाध्य हुनुभएको छ ।”

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बाढीपहिराले बगाएको बाटो खुलाउन सफल भए पनि पूर्ण रुपमा सहजता कायम गर्न भने नसकिएको बताउनुभयो । “हामीले सडक मार्गलाई तङ्ग्र्याएका छौँ । पहिले जस्तो नभए पनि अहिले आउजाउ गर्न भने सकिएको छ । बिस्तारै राम्रो बनाउने प्रयासमा छौँ,” उहाँले भन्नुभयो ।

सरकारले बाढीपीडित क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गरेको थियो । विभिन्न राजनीतिक दलका शीर्षनेता र राष्ट्रपतिसम्मले हेलिकप्टरबाटै बाढीपहिराग्रस्त क्षेत्रको निरीक्षण गरे पनि सामान्य ट्र्याक खोल्नेबाहेक सहज बनाउने गरी ठोस काम हुन नसकेको स्थानीयवासीको गुनासो छ । सो सडक खण्डलाई सडक विभागले आर्थिक वर्ष २०५१÷५२ निर्माण सुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर