भारतबाट भन्सार छलेर ल्याउँदै गरेको साढे पाँच लाखभन्दा बढीको लत्ताकपडा बरामद गर्यो प्रहरीले — OSNepal

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको साढे पाँच लाखभन्दा बढीको लत्ताकपडा बरामद गर्यो प्रहरीले

LC (KTM) November 22, 2021 0

भन्सार छलेर नेपाल ल्याइँदै गरेकाे लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरी नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । नेपालगञ्जस्थित सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट गएकाे सशस्त्र प्रहरीकाे टोलीले सोमबार बिहान ४ बजे लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले जानकारी दिए ।

तस्करहरूले खुला सीमाकाे फाइदा उठाउँदै भारतबाट भन्सार छलेर नेपाल भित्र्याउँदै गरेकाे अवस्थामा प्रहरीले कपडा बरामद गरेकाे हाे ।

टोलीले बाँकेको खजुरा गाउपालिका-७ सिमलघारीबाट भारतबाट लुकाइछिपाई नेपालगञ्ज ल्याउँदै गरिएको पाँच लाख ५८ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बमले बताए । उनका अनुसार बरामद लत्ताकपडामा दुई लाख ८८ हजार रुपैयाँ बराबरको सुट पाइन्टको दुई सय ८८ थान, दुई लाख ७० हजार रुपैयाँ बराबरको ९० पिस विवाहमा लगाउने साडी रहेका छन् ।

बरामद सबै लत्ताकपडालाई आवश्यक कारवाहीको लागि सोमबार दिउँसो नेपालगञ्ज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी उपरीक्षक बमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर