भारतमा पनि भेटियो दुई जनामा ओमिक्रोनको सङ्क्रमण — OSNepal

भारतमा पनि भेटियो दुई जनामा ओमिक्रोनको सङ्क्रमण

LC (KTM) December 02, 2021 0

नयाँ दिल्ली, १६ मङ्सिर -कोरोनाभाइरसको नयाँ भेरिएन्टको रूपमा देखिएको ओमिक्रोनको सङ्क्रमण भारतमा पनि पुष्टि भएको छ । भारतको कर्नाटक राज्यका दुई जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले बिहिबार जानकारी दिएका छन् । “एक जना ४६ बर्षीय र अर्का एक जना ६६ बर्षीय पुरुषमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको हो,” केन्द्रीय स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।

पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव लव अग्रवालले ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूको सम्पर्कमा रहेकाहरूको समेत परीक्षण गराइएको जानकारी दिनुभयो । उनीहरू सवैलाई आइसोलेसनमा राखेर उच्च सतर्कता अपनाइएको पनि सहचिव अग्रवालको भनाइ छ ।हाँले अन्य कोरोनाभाइरसभन्दा ओमिक्रोन भाइरसको असर पाँच गुणा बढी हुने भएकाले पनि यसका बारेमा अझ बढी सतर्कता अपनाउनु परेको स्पष्ट पार्नुभयो ।

अहिले विश्वभरीका २९ देशमा ओमिक्रोनका सङ्क्रमितहरु भेटिएको र उनीहरुको सङ्ख्या अहिलेसम्म ३७३ पुगेको पनि उहाँले जानकारी दिनुभयो ।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले ओमिक्रोनको सङ्क्रमण पहिलो पटक दक्षिण अफ्रिकामा नोभेम्बर २५ मा पुष्टि भएको जनाएको छ । सुरुमा वि.१.१.५२९ नाम दिइएको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले २६ तारिखका दिन ओमिक्रोन नामाकरण गरेको हो । यसलाई डब्लुएचओले उच्च सतर्कता अपनाउनु पर्ने खतरापूर्ण भाइरस भनेपछि विश्वभरी नै सतर्कता बढाउन थालिएको थियो । त्यसको केही समयमै धेरै देशहरुले उडान तथा नाका बन्द गर्दै सतर्कताका प्रक्रिया सुरु गरेका थिए ।
अहिले विश्वभरका दर्जनौ देशहरूले सतर्कतासम्वन्धी विभिन्न उपायहरु अपनाएका छन् ।(रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर