भैरहवा भन्सार हुँदै औद्योगिक कोरिडोरमा जाने सडक ओभरलोडले भत्किँदै — OSNepal

भैरहवा भन्सार हुँदै औद्योगिक कोरिडोरमा जाने सडक ओभरलोडले भत्किँदै

LC (KTM) December 30, 2021 0

सडक क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनका कारण भैरहवा भन्सार हुँदै लुम्बिनी र परासी जाने औद्योगिक कोरिडोर सडक भत्किन थालेको छ ।बेलहिया नाका हुँदै भित्रिने गाडीले ८० टनसम्म सामान बोकेर आउने भएकाले औद्योगिक कोरिडोरको सडक भत्किएर नाजुक अवस्गामा पुगेको नेपाली यातायात व्यवसायीले बताएका छन् । ओभरलोडका कारण भैरहवा–परासी कोरिडोरको दर्जनौ स्थानमा भत्किएको छ ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिले तीन वर्षअघि बढी भारबहन बोकेका सवारीसाधन भित्रिन नदिन अभियान नै चलाएको थियो । ‘हामीले व्यापक रुपमा अभियान चलाउँदा पनि बेलहिया नाका हुँदै भित्रिने गाडी निर्वाधरुपमा औद्योगिक क्षेत्रसम्म पुग्ने र जसका कारण सडक जीर्ण अवस्थामा पुगेको छ,’ समितिका पूर्वअध्यक्ष लोकराज पोखरेलले भने ।व्यवसायीले विगतमा आफै जम्मा भएर बाइपास सडकमा रहेको धर्मकाँटामा ओभरलोड लिएका गाडीलाई रोकेका थिए । ‘गाडी रोकेर आन्दोलन गर्दा पनि समस्या समाधान भएन,’ पोखरेलले भने ।

भारतबाट ओभरलोड सामान आए भन्सारमै पोल्ट्री गराउनुपर्ने कानुनी व्यवस्था छ । तर, त्यसलाई कुनै पनि निकायले कार्यान्वयनमा ल्याएका छैनन् । भन्सारका एजेन्टले भारतीय ट्रकबाट रकम असुली गरी भन्सारको मिलेमतोमा पोल्ट्री हुने सामान पनि नगराई नेपाल प्रवेश गराउने गरेका छन् । नेपालमै सबैभन्दा बढी ओभरलोडका सामान भैरहवा भन्सार हुँदै भित्रिने गरेको नेपाली यातायात व्यवसायीको दाबी छ ।

यातायात सम्बन्धी प्रचलित कानुन अनुसार छ चक्के ट्रकले १० टन, १० चक्केले १६.५ टन, १२ चक्केले २१ टन र १४ चक्केले २५ टन भन्दा बढी भार बोक्न पाउँदैनन् । तर, क्षमता भन्दा दोब्बर भार बोक्ने गरेको पोखरेलको भनाइ छ ।भार मिलानसम्बन्धी कार्यविधि २०७१ मा आयातित सामानको हकमा भारवहन क्षमता मिलान गरी ढुवानीका लागि सम्बन्धित भन्सारले इजाजत दिनुपर्ने व्यवस्था छ । तोकिए बमोजिम बढी भारबहन गर्नुपर्ने सामग्रीको हकमा सम्बन्धित यातायात कार्यालयको स्वीकृतिमा मात्र भन्सारले ढुवानी इजाजत दिनुपर्ने तथा भार छुटाउन नसकिने उल्लेख छ । तर, यो नियम कार्यान्वयनमा बेबास्ता गरिँदै आएको छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले कतिपय ओभरलोड बोकेर भित्रिएका गाडीमा सामान पोल्ट्री गर्न नमिल्ने र त्यस्ता गाडी औद्योगिक क्षेत्रसम्म सिधै पुग्ने गरेको बताउँदै सामान पोल्ट्री गर्न सकिने ट्रकलाई भने पोल्ट्री गराएर मात्र छाड्ने गरिएको बताए ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी कृषिराम तिवारीले सरोकारवालाको बैठक बसेरै ओभरलोड नियन्त्रणका लागि पहल गर्ने निर्णय भएको र सोही अनुसार प्रगति पनि भएको बताए । ‘अहिले ट्राफिक प्रहरीले ठाउँठाउँमा ओभरलोड नियन्त्रणका लागि चकजाँच बढाएको अवस्था छ, भन्सारबाट भित्रिएका गाडीलाई त्यत्तिकै छाडिएको छैन,’ उनले भने ।

ओभरलोडकै कारण भैरहवा-लुम्बिनी सडक पनि बनेको ६ महिना नहुँदै भत्किन सुरु गरेको छ । भैरहवा-लुम्बिनी कोरिडोरमा ५० टनभन्दा बढी भार बोकेका ट्रक गुड्दा सडक नै भत्किन थालेको यातायात व्यवसायीहरु बताउँछन् ।रुपन्देहीको बेलहिया नाका हुँदै दैनिक चारसय मालबाहक गाडी भित्रिन्छन् । तीमध्ये ६० प्रतिशतभन्दा बढी गाडीले ओभरलोड बोक्ने गरेको पाइएको छ । डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले अधिकांश गाडीले औद्योगिक सामान बोकेर आउने र धेरैमा बढी भारबहन पाइएको भन्दै हालसम्मको अनुगमनमा सडक भत्कनुको मुख्य कारण ओभरलोड नै देखिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर