मनाङमा तीन फिटसम्म हिउँ , सतर्कता अपनाउन स्थानीयलाई आग्रह (फोटो फिचर) — OSNepal

मनाङमा तीन फिटसम्म हिउँ , सतर्कता अपनाउन स्थानीयलाई आग्रह (फोटो फिचर)

LC (KTM) December 29, 2021 0

लमजुङ १४ पुस-मनाङमा निरन्तर हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । मनाङको सदरमुकाम चामेसहित माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ ।शनिबार साँझदेखि निरन्तर परेको हिमपातका कारण मनाङको तापक्रम माइनसमा झरेको छ । तापक्रम माइनस १२ डिग्रीसम्म पुगेकाले जनजीवन कष्टकर बनेको छ । चिसो अत्यधिक बढेको छ ।

शनिबारदेखि आइतबारसम्म हल्का हिमपात भए पनि मंगलबार साँझदेखि भने माथिल्लो मनाङसहित चामेमा ३ फिट बाक्लो हिमपात भएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए । मनाङको नासों गाउँपालिका– ९ दानक्युदेखि माथिल्लो क्षेत्रमा बाक्लो हिमपात भएको हो ।

जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काका अनुसार हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । बाक्लो हिमपात भएकाले अत्यधिक चिसो बढेसगै प्रहरीलाई नियमित गस्तीका लागि वरपर हिँड्नसमेत समस्या भएको छ ।

जाडो बढेसँगै मनाङको तापक्रम दिउँसो पनि माइनसमा र साँझ–बिहान माइनस ६ देखि माइनस १३ डिग्री सेल्सियससम्म पुग्ने गरेको सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङका प्रमुख एसपी सूर्यप्रसाद आचार्यले बताए ।

अत्यधिक चिसोका कारण खोला खोल्सा र पिउनका लागि ल्याइएको पानी पाइपमा जमेको सशस्त्र प्रहरी बल मनाङका प्रमुख डिएसपी अर्जुन पौडेलले बताए । उनले भने बाक्लो हिमपातका कारण हिँड्डुल गर्न समेत समस्या भएको छ ।

जिल्ला प्रशासन कार्यालय मनाङले उच्च पहाडी र हिमाली भू–भागमा हिमपातका कारण तापक्रममा गिरावट आई चिसो बढ्न सक्ने हुनाले सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर