महाकाली नदी उर्लिएपछि तटीय क्षेत्रका बस्ती डुबानमा — OSNepal

महाकाली नदी उर्लिएपछि तटीय क्षेत्रका बस्ती डुबानमा

LC (KTM) October 19, 2021 0

महेन्द्रनगर, २ कात्तिक-लगातारको वर्षाका कारण महाकाली नदी उर्लिएपछि कञ्चनपुरमा नदीले कटान सुरु गर्नुका साथै बाढी गाउँ पस्न थालेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले महाकालीमा बाढी आउँदा भीमदत्त नगरपालिका–९ खल्लादेखि भीमदत्त नगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रको तटीय क्षेत्र उच्च जोखिममा रहेको बताउनुभयो । “निमार्णाधीन चार लेनको पुलसँगै बनिरहेको पहुँच मार्ग (भाइरल रोडं) नदीले कटान गरिरहेको छ”, प्रवक्ता न्यौपानेले भन्नुभयो, “पारी दोधारा चाँदनीतर्फ पनि नदी किनारका बस्तीमा पानी पस्न थालेको छ ।”

यहाँको खल्ला मसेटी क्षेत्रमा महाकाली नदी गाउँ पसेको खबर आएको प्रहरीले जनाएको छ । उता दोधारा चाँदनीमा रहेको जोगबुढा नदीमा बाढी आउँदा आसपासको क्षेत्र डुबानमा परेको छ । महाकाली नदीमा बिहान ७ बजे गरिएको मापनअनुसार पानीको बहाव यो वर्षकै उच्च रहेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले अहिले पानीको बहाव चार लाख ६१ हजार ७८८ क्युसेक पुगेको जानकारी दिनुभयो ।

उहाँले प्रहरीको विपद् व्यवस्थापन गुल्म, जिल्ला प्रहरी कार्यालयको टोलीसहित तटीय क्षेत्रमा उद्दारमा खटिएको जानकारी दिनुभयो । “यहाँ करिब ३०० घर प्रभावित भएका छन् ।” उहाँले भन्नुभयो, “धेरैलाई सुरक्षित स्थानमा सारिएको छ ।” नेपाली सेना र सशस्त्र प्रहरी पनि बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि जाने तयारीमा छन् । लगातारका वर्षाका कारण कञ्चनपुरको शुक्लाफाँटा, बेदकोट, कृष्णपुर, बेलौरी, पुर्नवास क्षेत्रमा धानबालीमा ठूलो क्षति पुगेको छ । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला र बैतडी क्षेत्रमा भइरहेको अविरल वर्षाका कारण महाकाली नदीमा बाढी आउने क्रम बढिरहेको छ ।

तटीय क्षेत्रका बस्ती डुबानमा -महाकाली नदीको बहाव उच्च बनेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका क्षेत्रका बस्ती डुबानमा परेका छन् । आइतबारदेखिको अविरल वर्षा पछि महाकाली नदीको बहाव उच्च भएको छ । महाकाली तटीय क्षेत्र नजिकका सबै बस्तीमा बाढीको पानी पसेर डुबानमा पारेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक न्यौपानेका अनुसार भीमदत्त नगरपालिकाको महाकाली तटीय क्षेत्रका ब्रह्मदेवदेखि झोलुङगे पुलसम्मको पूरै बस्तीमा बाढीको पानी पसेको छ । दोधारा चाँदनी नगरपालिका क्षेत्रका तटीय क्षेत्रका बस्ती समेत जलमग्न भएका छन् । रातिदेखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली महाकाली नदीको बाढीको पानी पसेको क्षेत्रमा उद्धारमा खटिएको छ ।

“रातिदेखि नै उद्धारको कार्यमा खटिएका छौँ”, प्रहरी नायब उपरीक्षक न्यौपानेले भन्नुभयो, “मानवीय र चौपाया क्षति अहिलेसम्म भएको जानकारी आएको छैन । पानी घरभित्र पस्दा स्थानीय बासिन्दाको खाद्यान्नलगायतमा क्षति पुगेको छ । प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित क्षेत्रमा सार्ने कार्य भइरहेको छ ।” भीमदत्त नगरपालिकाको ब्रह्मदेव, ऐरी, ओदाली र दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर, शान्ति टोलमा गरी २०० बढी घर डुबानमा परेका छन् । महाकाली नदीको बाढीको पानीले कालोपत्रे गरिएको पहुँच मार्ग(भाइरल रोड)मा कटान गर्ने कार्य जारी राखेको छ ।

मार्गको ठाउँ ठाउँमा नदीले कटान गरेको छ । महाकाली नदीको बहाव बढेसँगै नदीको सीमा पुल वनवसाको आवतजावतमा समेत रोक लगाइएको छ । नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि सवारी साधन र दुई लाख क्युसेक नाघे पछि पूरै आवतजावत बन्द गर्ने गरिएको छ । जिल्लाको मध्य माग भएर बग्ने दोदा(मछेली) नदीको बहावसमेत उच्च भएको छ । नदीको सुचना अबलोकन कर्ता पल्टा खुनाका अनुसार नदीको पानी चेतावनी तह पार गरेको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तक अवस्थामा रहन जानकारी दिने कार्य भइरहेको छ । चुरे क्षेत्र भएर नदीको बहावसमेत बढेको छ । नदीमा पानीको बहाव बढेसँगै जग्गा कटानको कार्यसमेत तीव्ररुपमा भइरहेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर