महाकाली नदी स्वच्छ राख्न चालिदै यस्तो कदम — OSNepal

महाकाली नदी स्वच्छ राख्न चालिदै यस्तो कदम

LC (KTM) January 02, 2022 0

दार्चुला  -महाकाली नदी स्वच्छ राख्न दार्चुला सदरमुकाम खलंगामा ‘पवित्र महाकाली स्वच्छता अभियान’ को सुरुवात गरिएको छ । सनातन धर्मावलम्बीहरूको आस्थाको धरोहर पवित्र महाकाली नदीको स्वच्छताका लागि सामूहिक संकल्प गरिएको ‘पवित्र महाकाली स्वच्छता अभियान’का संयोजक शंकर सिंह धामीले बताए ।

महाकाली नदीले हामीलाई स्वच्छ हावापानी, ढुङ्गा गिट्टी बालुवा लगायत नदी जन्य पदार्थ दिने मात्रै नभई यसले देशको सीमा सुरक्षा समेत गरेको उनको भनाई छ । ‘प्रकृतिबाट अनुपम, अद्वितिय सम्पदा पाएका छौ, समयमै यसको संरक्षण गर्नु आवश्यक छ’ धामीले भने ।

हाल महाकाली नदी सरसफाइका प्रमुख चुनौतीहरू नदी किनारमा दिशा, पिसाब गर्ने, फोहोरमैला जथाभाबी फाल्ने, सिसाका बोतलहरू नदीमा फाल्ने लगायत रहेका छन् । महाकाली नदी पवित्र हो भन्ने चेतनाको कमी तथा सम्मान भाव नभएकाले फोहोर गर्ने समस्या रहेको छ । महाकाली नदीप्रतिको सम्मानभाव जगाउनु आजको आवश्यकता रहेको संयोजक धामीले बताए ।

केही वर्ष पहिले दार्चुला सदरमुकाम खलंगाका स्थानीयले महाकाली नदीको पानी पिउने गरेको स्थानीय राजेन्द्र अवस्थीले बताए । बढ्दो सहरीकरणले महाकाली नदी पनि फोहोर हुनै गइरहेकाले यसको स्वच्छताका लागि समयमै सजग हुनु आवश्यक रहेको उनको भनाई छ ।

दार्चुला सदरमुकाम भन्दा माथिल्लो क्षेत्रमा महाकाली नदीमा फोहोर फाल्ने प्रवृत्ति कम छ । दार्चुला सदरमुकाम क्षेत्र महाकाली नदी फोहोर गर्ने पहिलो विन्दु हो ।

पवित्र महाकाली स्वच्छता अभियान’ले शनिबार दार्चुला सदरमुकाम स्थित महाकाली नदी किनारमा गरेको भेलामा झण्डै ३० जनाले नदीको पानी हातमा लिएर नदी स्वच्छ राख्ने संकल्प लिएका छन् । महाकाली नदी नेपाल र भारतको सीमा नदी भएकाले दुवै देशका स्थानीयहरू सचेत भएका नदी स्वच्छ रहनेमा सहभागी एकमत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर