महाकाली राजमार्गमा कालाेपत्रे भन्दा खाल्डाखुल्डी धेरै — OSNepal

महाकाली राजमार्गमा कालाेपत्रे भन्दा खाल्डाखुल्डी धेरै

LC (KTM) November 17, 2021 0

बैतडी, १ मंसिर- महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँज–गोकुलेश्वर सडक खण्डको ठाउँ ठाउँमा कालोपत्रे उप्किएपछि जिर्ण बनेकाे छ । राष्ट्रिय राजमार्गकाे विभिन्न खण्ड जिर्ण बन्दा सवारी दुर्घटनाको जोखिम बढेको छ ।

दोगडाकेदार- ६ का रुपेश कार्कीका अनुसार केही ठाउँमा बाढी पहिरोका कारण कालोपत्रे उप्किएको देखिन्छ । केही ठाउँबाट ग्रामीण क्षेत्रतर्फ जाने शाखा कच्ची सडक खनिएकाले पनि राजमार्गकाे कालोपत्रे भत्किएको छ ।

महाकाली राजमार्गमा सतबाँजदेखि गोकुलेश्वरसम्म करिब २५ प्रतिशत सडक बिग्रिसकेको डिलाशैनी-६ गोकुलेश्वरका व्यवसायी सुरेश श्रेष्ठले बताए । उनले भने,‘गोकुलेश्वर पुल ठोक्करदेखि बरम बजारसम्म करिब पाँच सय मिटर सडक पुरै बिग्रिएको छ । यसलाई बनाउनतर्फ कसैको ध्यान गएको छैन् ।

जिल्लाका अन्य ठाउँमा कालोपत्रे टाल्ने काम भए पनि गोकुलेश्वर क्षेत्रमा भने काम भएको छैन् । सडक विभागका प्रतिनिधिहरू भेटिन्छन् उनीहरूलाई पटक पटक भनेकै छौँ । स्थानीय सरकारदेखि सबैलाई घच्घच्याउँदा कुनै पनि सुनुवाई भएन ।’ श्रेष्ठले भने,‘सबै तहका व्यक्तिहरू यही बाटो भएर दार्चुला सदरमुकाम आउजाउ गर्छन । तर, सडक बनाउन ध्यान गएको छैन् । केही दिनअघि कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु सडक बिग्रेकाले सडकमै गाडी रोकिएपछि हिँडेरै समेत जाए । तर, सडक बनाउन भने कुनै ध्यान दिएनन् ।’

सडकले दुर्घटनाको जोखिम बढाउन सक्ने भन्दै सडक निर्माण गरिदिन माग गरे पनि सुनुवाई नभएको स्थानियवसीको गुनासो छ । विभिन्न ठाउँमा उप्किएकाे कालोपत्रे, भत्किएका नाली तथा ह्युम पाईप व्यवस्थापनमा कसैले ध्यान नदिएको यातायात व्यवसायी हरिश नाथले बताए । सडक किनारमा स्थानीयवासीले वालुवा र गिट्टी थुपारेका कारण समेत दुर्घटनाको जोखिम बढेको उनले बताए । सडक साँघुरो भएकाले गाडीहरूलाई साइड दिन समस्या हुने गरेको व्यवसायी नाथको भनाइ छ ।

महाकाली राजमार्ग अन्तर्गतको सतबाँज–गोकुलेश्वर सडकखण्डका विभिन्न ठाउँमा समस्या देखिएकाले छिट्टै मर्मत गरिने सडक डिभिजन कार्यालय पाटनले जनाएको छ । खाल्डाखुल्डीमा पुनः कालोपत्रे गर्न ठेक्का सम्झौता भैसकेकाले केही दिनभित्रै काम सुरू हुने डिभिजन कार्यालयका रमेश चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर