महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आजदेखि मध्यपुरथिमिमा सुरु — OSNepal

महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आजदेखि मध्यपुरथिमिमा सुरु

LC (KTM) January 11, 2022 0

भक्तपुर २७ पौष । नेपाल भारोत्तोलन सङ्घले आयोजना गरेको २४औँ पुरुष तथा ९औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आजदेखि मध्यपुरथिमिमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालको राष्ट्रियतालाई सधैँ उच्च राख्ने दायित्व देशका हरेक नागरिकको भएको औँल्याए ।

भावी पुस्तालाई पनि राष्ट्रिय गौरबको काम गर्दै देशको नाम उच्च राख्न प्रेरित गर्नुपर्ने औल्याउँदै उनले खेल र उत्कृष्ट खेलाडीको जीवनीलाई विद्यालयस्तरदेखिनै पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिए । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले खेल एवम् खेलाडीको विकासका लागि विगतमा पनि सहयोग गर्दै आएको र अहिले पनि सहकार्य गरेको बताए ।

कार्यक्रममा सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ ९बोस० ले युथ, जुनियर र सिनियर गरी पूरै विधामा ६ वटा इभेन्टसको एकैचोटी हुने प्रतियोगितामा विभिन्न जिल्लाबाट २२ वटा समूहमा १४० खेलाडीको सहभागिता रहेको जानकारी दिए ।

आजदेखि २९ गते अन्तिम खेल सञ्चालन हुने प्रतियोगितामा जुनियर तथा सिनियर पुरुष ५५, ६१, ६७, ७३ ८१, ८९, ९६, १०२, १०९, १०९ केजी, युथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९३, १०२, १०२ केजी समूहमा प्रतिस्पर्धा हुनेछ । जुनियर तथा सिनियर महिला ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७, ८७ केजी युथ महिलातर्फ ४०, ४५ ४९,५५, ५९, ६४, ७१,७६,८१, ८१ केजी वजन समूमा प्रतिस्पर्धा हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

विजयीमध्ये महिलातर्फ ३० स्वर्ण, ३० रजत, कास्य ३० र पुरुषतर्फ ३० स्वर्ण, ३० रजत, कास्य ३० गरी १८० वटा पदक प्रदान गरिनेछ ।सो अवसरमा शताब्दी पुरुष सत्यमोहन जोशीलाई नेपाल भारोत्तोलन सङ्घले सम्मान गरेको छ । सङ्घका अध्यक्ष श्रेष्ठले उनलाई ताम्रपत्र प्रदान गरेर सम्मान गरेका हुन् । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठ, नेपाली कांग्रेसका नेता रामकाजी त्वातीलगायतलाई सम्मान गरिएको थियो ।

त्यस्तै भारोत्तोलनमा पहिलो स्वर्ण पदक बिजेता कमल अधिकारी, महिलातर्फ सञ्जु चौधरी र विकास थापालाई जनही रु १० हजार पुरस्कारसहित सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर