मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढाउनुपर्छ : महासचिव पोखरेल — OSNepal

मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढाउनुपर्छ : महासचिव पोखरेल

LC (KTM) November 16, 2021 0

काठमाडौँ, ३० कात्तिक -नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । टोखा नगरपालिकाले आज आयोजना गरेको ‘नगर स्मारिका विमोचन, सहयोगीदातालाई सम्मान कार्यक्रम एवं सार्वजनिक सुनुवाइ’ कार्यक्रममा उहाँले मुलुकमा राजनीतिक मुद्दा सकिएकाले अब देशलाई आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको हो । “जनतालाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउनुपर्छ, स्थानीय सरकारले आफ्ना नागरिकलाई रोजगारी दिने वातावरण निर्माण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

सार्वजनिक सुनुवाइमार्फत जनताको अदालतको कठघरामा जनप्रतिनिधिलाई उभ्याएकोमा उहाँले टोखा नगरपालिकालाई धन्यवाद दिनुभयो । वर्तमान गठबन्धनको सरकारले विकास निर्माणको कामलाई अगाडि बढाउन नचाहेको महासचिव पोखरेलले आरोप लगाउनुुभयो । अघिल्लो सरकारले एक हजार ४०० सडक निर्माण र ३०० अस्पताल निर्माण कार्य अघि बढाएको उहाँको भनाइ थियो । स्थानीय सरकारले निर्वाचनको समयमा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने नेता पोखरेलले बताउनुभयो ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको विकासमा जनप्रतिनिधिमात्र नभएर स्थानीयवासीको समेत महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । संविधानले कल्पना गरेअनुसार बनेको स्थानीय सरकारले जनताको इच्छा र आकाङ्क्षाअनुसार काम गरेको उहाँको भनाइ थियो । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले टोखाको विकास र समृद्धिका लागि जनप्रतिनिधि अहोरात्र खटेको बताउनुभयो । कार्यक्रममा टोखा नगरपालिकाको सम्पूर्ण विवरण समेटिएको ‘हिजो, आज र भोलि’ वृत्तचित्र प्रस्तुत गरिनुका साथै नगरपालिकाको बारेमा निर्माण गरिएको ‘नगर स्मारिका’ विमोचन गरिएको थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य राधा ज्ञवाली, बागमती प्रदेशसभा सदस्य दीपक निरौला, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेल, तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरालगायत सहभागी थिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर