मेयर रेणु दाहालले गरिन घर बनाइदिने वाचा पुरा, घर पाएपछि मुसहर समुदायमा छायो खुशीयाली — OSNepal

मेयर रेणु दाहालले गरिन घर बनाइदिने वाचा पुरा, घर पाएपछि मुसहर समुदायमा छायो खुशीयाली

LC (KTM) December 09, 2021 0

चितवन- नयाँ पक्की घर पाएपछि चितवनका मुसहर समुदायमा खुसी छाएको छ । भरतपुर महानगरपालिकाले नयाँ घर बनाएर हस्तान्तरण गरेपछि वडा नम्बर २७ र २८ का छ घर मुसहर परिवारमा खुसीयाली छाएको हो सुनिता मुसहरले घरविहीन भएकाले घर पाउँदा खुुसी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बस्ने टहरासमेत राम्रो थिएन, स्थानीय सरकारले घर बनाइदियो आज धेरै खुसी छु ।”

दीपक मुसहरले माछा मारेर जीवन गुजारा चलाउँदै आए पनि बस्ने घर नहु्ँदा थप कष्टकर जीवन बिताउनुपरेको बताउनुभयो । अहिले घर पाउँदा आफु खुसी भएको बताउँदै महानगरप्रमुख रेणु दाहाललगायत जनप्रतिनिधि र महानगरलाई धन्यावाद दिनुभयो ।

भरतपुर महानगरपालिकाले आवास कार्यक्रमअन्तर्गत २०७७÷२०७८ को बजेटबाट वडा नं २७ र २८ मेघौली–ददेनीको मुसहर बस्तीमा नवनिर्मित सामूहिक आवास हस्तान्तरण गरेको हो । घर निर्माण उपभोक्ता समितिका संयोजक टीकाराम भुषालले रु २३ लाख बजेटमा पक्की घर, भान्सा, शौचालयसहित दुई कोठा र भान्सा कोठा निर्माण गरिएको बताउनुभयो । दीपक मुसहर, शम्भु मुसहर, राजु मुसहर, गेडह मुसहर र पत्रुस मुसहरलाई घर निर्माण गरी हस्तान्तरण गरिएको हो । राजकुमार मुसहरको परिवारलाई भने गत वर्ष नै हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा महानगरप्रमुख दाहालले चुनावी अभियानकै क्रममा यहाँको मुसहरको दयनीय अवस्था देखिपछि आफुले जनताको आधारभूत आश्यकताअनुसार घर बनाइदिने अठोट लिएको बताउनुभयो । सोही प्रतिबद्धताअनुसार आज काम पूरा भएको र घर हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ आउँदा यहाँका मुसहर बस्ती दयनीय अवस्थामा थियो, माथि खरको छानो त्यसमा पनि पानी चुहिरहेको थियो, त्यो अवस्था देख्दा घर बनाइदिनुपर्छ भन्ने लाग्यो, अहिले घर निर्माण गरी हस्तान्तरण गर्न पाउँदा र आफ्नो प्रतिबद्धता पूरा गर्न पाउँदा खुसी लागेको छ ।” उहाँले विपन्न समुदायको आवास व्यवस्थापन महानगरको पहिलो योजना रहेकाले हरेकले घर पाउने अवस्था सुनिश्चित भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर