मेलम्चीको कार्ययोजना चाँडो स्वीकृत गरी कार्यान्वयनमा लैजान निर्देशन — OSNepal

मेलम्चीको कार्ययोजना चाँडो स्वीकृत गरी कार्यान्वयनमा लैजान निर्देशन

LC (KTM) January 14, 2022 0

काठमाडौँ, ३० पुस -प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाले अस्थायीरूपमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा पथान्तरण गर्ने गरी बनाएको कार्ययोजना यथाशीघ्र स्वीकृत गरी कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले युटिलिटी करिडोरसम्बन्धी विधेयक संसद्मा पेश गर्न पनि निर्देशन दिएको छ । काठमाडौँ उपत्यकालगायतका विभिन्न स्थानमा खानेपानी सेवा विस्तारका लागि भइरहेका काममा अरु निकायबाट आवश्यक समन्वय नभएको र खानेपानीका संरचनामा क्षति पु¥याएको भन्दै समितिले क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउन व्यवस्था मिलाउन पनि भनेको छ । मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको अवस्थामा वैकल्पिकरूपमा प्रस्ताव गरिएको सिस्नेरी खानेपानी आयोजनालाई यथाशीघ्र्र कार्यान्वयनमा ल्याउन पनि निर्देशन गरिएको छ ।

समितिले निर्माणाधीन कतिपय खानेपानी आयोजनामा २० प्रतिशत जनश्रमदान गर्नुपर्ने व्यवस्थाका कारण आयोजना अलपत्र परेको भन्दै कार्यान्वयन हुन सक्ने वैकल्पिक नीतिगत व्यवस्था मिलाई आयोजना सम्पन्न गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ । मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्या र यसको दीर्घकालीन समाधानका विषयमा समितिका सदस्य, सचिवालयका कर्मचारी, खानेपानी मन्त्रालय र विज्ञसहित अन्तरक्रिया गर्ने निर्णय गरिएको छ ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले आगामी चैतभित्रमा काठमाडौँ उपत्यकामा पुनः पानी ल्याउने गरी तयारी अघि बढाइएको बताउनुभयो । अहिले निर्माणको काम गरिरहेको कम्पनीको अवधि सकिएको र उसको अवधि थपेर जाँदा नै काम गर्न सजिलो हुने उहाँको भनाइ छ । खानेपानी आयोजनामा जनश्रमदान गर्ने व्यवस्था रहँदा काम अघि बढाउन समस्या भएको उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयवासी श्रमदान गर्न चाहँदैनन् र स्थानीय तहले पनि श्रमदानबापतको सहयोग गर्न चाहेको छैन ।”

मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले मेलम्ची खानेपानी आयोजनामा कार्यरत कम्पनीले तीन महिनामा काम गरिसक्ने बताउनुभयो । खानेपानीले कुनै पनि ठाउँमा सडक खन्दा सडक विभागसँग अनुमति लिनुपर्ने भए पनि विभागले सडक विस्तार गर्दा समन्वय नगर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यसले गर्दा हाम्रा धेरै संरचनामा क्षति पुगिरहेको छ ।”

समितिका सभापति कल्याणीकुमारी खड्काले काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधान गर्न मेलम्चीको विकल्पको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । समितिका सदस्य रङ्गमती शाही, यज्ञराज सुनुवार, गजेन्द्रबहादुर महत, बिना श्रेष्ठ, दुर्गा पौडेल, बहादुरसिंह लामालगायतले शहरी क्षेत्रका नागरिकले नै गुणस्तरीय खानेपानी नपाएको र ग्रामीण क्षेत्रमा यो झन ठूलो समस्याका रूपमा रहेको बताउनुभएको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर