मेला लगाउन विद्यालय बन्द — OSNepal

मेला लगाउन विद्यालय बन्द

LC (KTM) December 27, 2021 0

जाजरकोट, १२ पुस-जाजरकोटको त्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि बन्द गरिएको छ । पुस १२ देखि १६ गतेसम्म विद्यालय बन्द गरी मेला लगाएको हो ।रमाइलो मेला तथा सांस्कृतिक मेला भन्ने नारा दिएर विद्यालयको हाताभित्र कार्यक्रम सञ्चालन गरिँदा विद्यालय बन्द भएको हो । ‘विद्यालय बन्द गरेर मेला लगाउनु ठिक नभए पनि सर्वदलीय सहमति गराएर जिल्ला प्रशासन कार्यालयमा गई निर्णय भएपछि मेरो मात्र के लाग्छ र?,’ प्राचार्य भक्तबहादुर मल्लले भने । मेला लगाए बापत विद्यालयलाई ५० हजार दिएको समेत उनले बताए ।

कोभिडका कारण पढाई लामो समयसम्म बन्द भएर भर्खरै मात्र पढाई सुचारु भएको विद्यालयमा मेला लगाएर पढाइ अवरुद्ध गर्नु र विद्यालयको हाताभित्र फोहोर गरेर वातावरण बिगारेको भन्दै भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले असन्तुष्टि व्यक्त गरेका छन् ।

भेरी नगरपालिकाले दुई वर्षअघि विद्यालयमा मेला लगाउन नपाउने निर्णय गरेको थियो । राजा वीरेन्द्रको जन्मोत्सवमा लगाउँदै आएको यो मेला कोभिडका कारण बन्द हुँदै आएको थियो । मेला लगाउने भए पनि तल्लो थाप्लेमा ठाउँ हुँदा हुँदै पनि विद्यालय भित्र नै लगाउनु र लगाउन बाध्य पर्नु सही नभएको सर्वसाधारणले बताएका छन् ।

भेरी ज्ञानोदय क्याम्पसमा विएड प्रथम वर्षको परीक्षा चलिरहेकाले मेलामा होहल्ला हुँदा परीक्षा राम्रोसँग दिन नपाएको विद्यार्थी धर्म चन्दले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर