युवा नेता बस्नेतद्वारा सचिव पदमा उम्मेदवारी दिने घोषणा — OSNepal

युवा नेता बस्नेतद्वारा सचिव पदमा उम्मेदवारी दिने घोषणा

LC (KTM) November 23, 2021 0

काठमाडौँ, ७ मङ्सिर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता महेश बस्नेतले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।रिपोर्टस क्लबद्वारा आज आयोजित कार्यक्रममा नेता बस्नेतले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, एकता, स्वाधीनता, स्वाभिमान र समृद्धिका लागि समग्र राजनीतिलाई दिशा दिन आफूले उम्मेदवारी दिन लागेको जानकारी दिनुभयो ।

यही मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने अधिवेशनमा नेता बस्नेतले संविधानले आत्मसात् गरेको समाजवादोन्मुख प्रणालीको प्राप्तिका लागि आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । पार्टीको वैचारिक, राजनीतिक र नीतिगत धरातललाई अझ स्पष्ट र समयसापेक्ष बनाउनुका साथै आन्तरिक एकतालाई सुदृढ तुल्याउँदै पद्धति सङ्गत सञ्चालनमा नेतृत्व प्रदान गर्ने बताउँदै नेता बस्नेतले आफूलाई सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेता बस्नेतले विगतमा सङ्गठन निर्माणमा आफूले गरेको योगदानस्वरूप अधिवेशनमा देशभरबाट सहभागी हुने प्रतिनिधिबाट मत प्राप्त हुने विश्वास गर्दै आफूले लोकप्रिय मत हासिल गर्ने निकिर गर्नुभयो ।राष्ट्रिय एकता तथा बामपन्थी पार्टी र समूहहरु बीचको एकता तथा पारस्परिक समझदारीमा अभिवृद्धि गरी राष्ट्रिय राजनीतिलाई देश र जनताको सर्वोपरि हितमा केन्द्रित गर्नेलगायत विषयमा आफूले भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर