राष्ट्रिय सम्पदा र संस्कृतिको संरक्षणमा सबै जुटौँ : राष्ट्रपति भण्डारी — OSNepal

राष्ट्रिय सम्पदा र संस्कृतिको संरक्षणमा सबै जुटौँ : राष्ट्रपति भण्डारी

LC (KTM) November 22, 2021 0

महोत्तरी, ६ मङ्सिर -राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सम्पदा र संस्कृतिको संरक्षणमा जुट्न अनुरोध गर्नुभएको छ । महोत्तरीको मटिहानी नगरपालिका–७ मा नवनिर्मित रङ्गशालाको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्राचीन ऋषिमुनिको तप र साधना भूमि मिथिलाक्षेत्रका राष्ट्रिय सम्पदा र यहाँको गौरवमय संस्कृतिको संरक्षणमा पहलकदमी लिन सम्बद्ध सबैपक्षसँग आग्रह गर्नुभएको हो । “प्रदेश–२ प्राचीन मिथिलाका अष्टावक्र, याज्ञवल्क्य, गार्गी, मैत्रेयी र राजा जनकसहितका विद्वान, विदुषीको साधना र तपको थलोका रुपमा परिचित छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “हामीले आफ्नो गौरवपूर्ण विगतलाई सम्मान गर्दै यी सम्बद्ध धरोहरको संरक्षण र सम्वद्र्धन गर्न पर्दछ ।” मैथिली भाषाका महाकवि विद्यापतिको साधनाले मुलुकको वाङ्मय समृद्ध बनेको पनि उहाँले चर्चा गर्नुभयो । मुलुकको विकास र पहिचानमा खेलकूद क्षेत्रको महत्वपूर्ण स्थान हुने राष्ट्रपति भण्डारीको भनाइ छ ।

यो यथार्थलाई हृदयाङ्गम गरी मटिहानी नगरपालिकाले विशाल रङ्गशाला निर्माण गरेर समयोचित काम गरेको उहाँले बताउनुभयो । नवनिर्मित रङ्गशालामा हुने अबका नियमित अभ्यासले खेल क्षेत्रमा राष्ट्रिय प्रतिभा जन्माउने विश्वास लिएको राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभयो ।मुलुकको तराई क्षेत्र अन्न उत्पादनको उर्वर भूमि रहेको हुँदा कृषिमा नयाँ प्रविधिको प्रयोग र अभ्यास बढाउँदै किसानलाई आधुनिक खेतीतर्फ लाग्न आवश्यक सीप, प्रविधि र सुविधा बढाउन स्थानीय तह, प्रदेश र केन्द्रसहित तीनै तहका सरकारले पहलकदमी लिनपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।नेपालको समग्र इतिहासमा मिथिला क्षेत्रले विशिष्ट स्थान ओगटेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले जनकनन्दिनी सीताको जन्मभूमि रहेको यस ठाउँमा अझै जातीय भेदभाव, महिला उत्पीडन, अन्धविश्वास र अशिक्षाले सिर्जित गरिबी अहिलेको चुनौती बनेको बताउनुभयो ।

यसलाई न्यूनीकरण गर्न प्रदेश–२ सरकारले थालेको ‘छोरी बिमा’ र ‘बेटी बचाउ–बेटी पढाउ’ कार्यक्रमको राष्ट्रपति भण्डारीले सराहना गर्नुभयो । “प्रदेश–२ सरकारले थालेको यो प्रयत्नले नारी शिक्षालाई बल दिनसँगै सक्षम नागरिक बनाउन मद्दत गर्नेछ”, भण्डारीले भन्नुभयो । शिक्षाको अवस्था फेर्नसँगै बालविवाह, अनमेल विवाह, बहुविवाह, दहेज र तिलक प्रथा एवं बोक्सीप्रथा जस्ता विसङ्गति र विकृति समाजमा अझै देखिनु दुःखको विषय रहेको राष्ट्रपतिले बताउनुभयो । “हाम्रा प्रयत्न यसको समूल अन्त्यका लागि केन्द्रित हुन आवश्यक छ”, उहाँले भन्नुभयो ।

मटिहानीमा ३०० वर्ष पहिले स्थापित तत्कालीन संस्कृत पाठशाला र हालको राजकीय संस्कृत माध्यमिक विद्यालयले देशमा शिक्षाको ज्योति छर्न महत्वपूर्ण योगदान दिएको राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभयो । शैक्षिक जागरणका अग्रदूत बालगुरु षडानन्दलेसमेत अध्ययन गर्नु भएको यो विद्यालयको समयोचित सुधार र विकासमा योगदान पु¥याउनु सबैको दायित्व भएको भण्डारीले बताउनुुभयो । मटिहानीका धार्मिक सम्पदा लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर, तश्मैयाबाबाको खन्ती, पिरबाबा मजारस्थान, लक्ष्मीसागर र नजिकको जलेश्वरनाथ महादेव मन्दिरको संरक्षण, सम्बद्र्धनमा पहलकदमी लिन सकेमात्र आफ्नो गौरवपूर्ण विगत सन्ततिले देख्न÷बुझ्न पाउने उहाँले उल्लेख गर्नुभयो ।

तराईको जीवन चुरे पर्वतसँग अभिन्नरुपले जोडिएको हुँदा चुरेको संरक्षणमा समुचित ध्यान पुग्न आवश्यक रहेको राष्ट्रपति भण्डारीको भनाइ छ । चुरेको संरक्षणविना तराईको समृद्धि सम्भव नरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, “चुरे संरक्षण र तराईको समृद्धि एकअर्काका पूरक हुन् ।” यसका लागि चुरेको दोहनलाई निरुत्साहित गरी नदी प्रणालीलाई व्यवस्थित गरिन आवश्यक रहेको उहाँले बताउनुभयो ।समारोहमा राष्ट्रपति भण्डारीलाई मटिहानी नगरपालिका, सांसद चन्दा चौधरी र महोत्तरी उद्योग वाणिज्य सङ्घले मिथिला कला, संस्कृति झल्कने उपहार प्रदान गर्नुभएको थियो ।

सो अवसरमा मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले राष्ट्रपतिलाई अभिनन्दनपत्र प्रदान गर्नुभयो । समारोहमै राष्ट्रपति भण्डारीले रङ्गशाला निर्माणमा अथक योगदान गर्ने मटिहानीका बासिन्दा विमलेश साह, विनोद मण्डल र नरेश महतोलाई सम्मानपत्र प्रदान गर्नुभयो । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न रङ्गशाला उद्घाटन समारोहमा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत, सांसद तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर र जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुरेशप्रसाद सिंहसहितका वक्ताले राष्ट्रपतिको आगमनले आपूmहरु र महोत्तरीवासीलाई ऊर्जा प्राप्त भएको बताउनुभयो ।करिब तीन करोड लागतमा एक बिघा १९ कठ्ठा क्षेत्रफलमा निर्मित रङ्गशालाको उद्घाटनपश्चात् राष्ट्रपति भण्डारीले मटिहानीस्थित ५०० वर्ष पुरानो लक्ष्मीनारायण मठको अवलोकन, लक्ष्मीनारायण मन्दिर र सन्त तश्मैयाबाबाको खन्तीको दर्शन र पूजाआराधना गर्नुभयो । यसैगरी राष्ट्रपति भण्डारीले ३०३ वर्ष पुरानो राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन गर्नुभयो ।

विद्यालय अवलोकनमा पुग्नुभएका राष्ट्रपतिलाई छात्रले रुद्राभिषेक पाठ गर्दै स्वस्तिवाचन गरेका थिए । सो अवसरमा प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेलले विद्यालयको भौतिक र शैक्षिक अवस्थाबारे राष्ट्रपतिलाई अवगत गराउनुभयो ।मटिहानीको कार्यक्रमपछि राष्ट्रपति भण्डारीले जलेश्वरस्थित श्रीजलेश्वरनाथ महादेवको दर्शन र पूजाअर्चना गर्नुभयो । त्यहाँ जलेश्वर नगरप्रमुख रामशङ्कर मिश्रसहितका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र उद्योगी व्यवसायीले राष्ट्रपतिलाई स्वागत अभिवादन गरेका थिए ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर