लागूऔषध ओसारपसारमा नयाँ शैली : किताबमा खोपा बनाएर ल्याइयो — OSNepal

लागूऔषध ओसारपसारमा नयाँ शैली : किताबमा खोपा बनाएर ल्याइयो

LC (KTM) December 08, 2021 0

झापा, २२ मंसिर -२३ साउनमा लागूऔषध ओसारपसारको एउटा घटनाले प्रहरीलाई अचम्मित बनायो । साधरणतया लागूऔषध ओसारपसार गर्नेले जीउ वा अन्य कुनै ठाउँमा लुकाएर ल्याउँछ । तर, २३ साउनमा झापामा दुई महिलाले योनीभित्र लागूऔषध ल्याएका थिए । नेपाल-भारत सीमास्थित गौरीगञ्जबाट ४४ ग्राम ब्राउनसुगरसहित दमक-१ की २४ वर्षीया मञ्जु धिमाल र २५ वर्षीया विमला धिमाललाई प्रहरीले पक्राउ गरेको थियो । ९ बजे रातको समयमा प्रहरीले उनीहरूलाई नाकामा फेला पारेको थियो ।

उनीहरूले लागूऔषध ल्याएको सूचना पाएपछि प्रहरीले शरीरका सम्पूर्ण भागमा खोज्दा पनि लागूऔषध भेटिएन । तर, मञ्जुले आफ्नो यौनीभित्र प्लास्टिकमा ब्राउनसुगर राखेर नेपाल भित्र्याउने प्रयासले प्रहरीलाई अचम्मित बनायो । लागूऔषध ओसारपसारमा यो प्रहरीका लागि नयाँ शैली थियो ।

मंगलबार राति लागूऔषध ओसारपसारमा संलग्न एक जनालाई पक्राउ गर्दा प्रहरी फेरि अचम्मित भएको छ । सीमामा प्रहरीले कडाइ गरेपछि कारोबारीमा संलग्नले अर्को नयाँ शैली अपनाएका छन् । पुस्तकको भित्री भागमा खोपेर एक जनाले लागूऔषध ल्याउँदै गर्दा पूर्वीनाकाबाट इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको हो ।

२३ ग्राम ब्राउन सुगरसहित सल्यान बनगाउँ-१ का ३० वर्षीय रमेश डिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए । ‘हेर्दा किताब छ । किताबमा ल्याएपछि पढ्ने मान्छे रहेछ भन्ने हुन्छ । खासै जाँच हुँदैन भनेर ल्याएको रहेछ,’ उनले भने, ‘तर, हामीलाई शंका लागेर हेर्दा लागूऔषध रहेछ । लागूऔषध ओसारपसारमा यस्तो शैली पहिलो हो । विगतमा मलद्वार र शरीरका विभिन्न भागमा राखेर त ल्याएको पाएका थियौं ।’

डिसीले कक्षा-११ को अर्थशास्त्रको किताबमा हालेर लागूऔषध ल्याएको प्रहरीले जनाएको छ । लागूऔषध ओसारपसारमा संलग्नले नयाँ-नयाँ शैली अपनाउँदा प्रहरीलाई नियन्त्रणमा कठिनाइ भएको छ

भारतसँग १४४ किलोमिटर खुला सीमा भएको झापा प्रहरीका लागि मुख्य चुनौती लागूऔषधको ओसारपसार नियन्त्रण बन्ने गरेको छ। भारतीय बजारमा सहजै लागूऔषध पाइँदा ओसारपसारमा संलग्नले प्रहरीको आँखा छलेर ल्याउने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तमा मात्र लागूऔषध कारोबार र ओसारपसारमा संलग्न ९९ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाइएको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा लागूऔषध प्रयोग, ओसारपसार र कारोबारमा संलग्न ३११ जनालाई पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर