शनिबार छ हजार ७४३ वडामा सम्मेलन गर्दै माओवादी — OSNepal

शनिबार छ हजार ७४३ वडामा सम्मेलन गर्दै माओवादी

LC (KTM) November 19, 2021 0

काठमाडौँ, ३ मङ्सिर-नेकपा(माओवादी केन्द्र)ले शनिबार देशभर नै वडा सम्मेलन गर्ने भएको छ । वडा सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । माओवादीले पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नका लागि वडा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास लिएको छ । समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका लागि ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासमेत तय गरेको छ ।

माओवादीले वडा समितिको चयन गर्दा सकेसम्म सर्वसहमतिमा गर्न भनेको छ । निर्वाचन हुने अवस्था आएको खण्डमा मर्यादित तरिकाले पार्टीको आन्तरिक लोकतन्त्रका रुपमा बुझेर सोहीअनुसारको भूमिका निर्वाह गर्न सबै पार्टी पङ्क्तिलाई आग्रह गरेको छ ।

वडा सम्मेलनका क्रममा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्नसक्ने नयाँ एवं रुपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दछ ।”
माओवादीले यही मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दैछ । आगामी पुस ११, १२ र १३ गते काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ । माओवादीले गठन गरेको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा सात सदस्यीय, पालिकामा पाँच सदस्यीय र वडा तहमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले वडाको नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत गर्न र नभए मात्रै निर्वाचनको प्रक्रियामा जाने गरी नीतिगत व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सर्वसम्मत नेतृत्व चयन भयो भने निर्वाचन समितिले विधि प्रक्रिया पूरा गर्दछ । यदि सर्वसम्मत भएन भने निर्वाचन प्रक्रियामा जान्छौँ । त्यसका लागि आवश्यक व्यवस्था गरिएको छ ।” उहाँका अनुसार शनिबार देशभरका छ हजार ७४३ वटा वडामा सम्मेलन गर्ने तयारी पूरा भएको छ । माओवादीको हालसम्म झण्डै आठ लाखले पार्टी सदस्यताको विवरण उपलब्ध गराएको जनाएको छ । केही विवरण प्रविष्ट गर्न बाँकी रहेकोसमेत सो पार्टीले उल्लेख गरेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर