शशांक कोइराला विरुद्ध यसरी खनिए प्रकाशमान — OSNepal

शशांक कोइराला विरुद्ध यसरी खनिए प्रकाशमान

LC (KTM) November 17, 2021 0

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूविरुद्ध दुष्प्रचार गर्नेहरूले हद नाघेको टिप्पणी गरेका छन् ।विराटनगरमा बुधबार गणेशमान सिंह स्मृति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा नेता सिंहले पार्टीमा सम्भाव्ययताको बहस हुने गरे पनि आफूविरुद्ध टिप्पणी गर्नेहरू असभ्य भएको भन्दै असन्तुष्टि पोखेका हुन् ।

कांग्रेस महामन्त्री शशांक कोइरालाले प्रकाशमान सिंहलाई काठमाडौं बाहिर कसैले नचिन्ने भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले आफू ‘ग्रासरुट’ बाट राजनीति र संगठन गरेर आएको मान्छे भएको बताए । उनले पदमा बसेर काम नगरेकाहरुले आफूविरुद्ध कुप्रचार गरेको उल्लेख गरे ।

‘संविधान जारी हुँदा उपप्रधानमन्त्री भएको मान्छे हुँ, गिरिजाप्रसाद कोइरालाको उपसभापति, सुशील कोइरालाको निर्वाचित महामन्त्री र शेरबहादुरले पार्टी विभाजन गर्दा पनि जिम्मेवार पदमा बसेर काम गरेको मान्छे हुँ म’, शशांकप्रति लक्षित गर्दै उनले भने, ‘आफू कुनै पदमा बसेको छैन, अरुलाई पनि त्यही देख्ने, फलानेकोको के छ के छ भन्दै उफ्रने।’

नेता सिंहले पहिले पहिले काठमाडौंले पनि नचिन्ने भन्दै आफूविरुद्ध प्रचार भए पनि पछिल्लो समय काठमाडौं बाहिर कसैले नचिन्ने भन्दै दुस्प्रचार नियतवह हुन थालेको भन्दै आक्रोश पोखे । १२औं महाधिवेशनमा सभापति सुशील कोइरालाले भन्दा बढी मत ल्याएर महामन्त्री जितेको भन्दै उनले अहिले आफूसँग भोट छैन भन्नेहरुले इतिहास हेर्न चेतावनी दिए ।

‘पहिले काठमाडौमा चिन्दैन भन्थे अहिले काठमाडौंमा चाहिँ चिन्छ, बाहिर चाहिँ चिन्दैन भन्छन्’, उनले भने । नेता सिंहले आफ्नो राजनीतिक इतिहास पल्टाएर हेर्न पनि आग्रह गरे । आफू गणेशमान र मंगलादेवीको छोरा भए पनि पार्टी र देश संकटमा पर्दा ज्यानको बाजी राखेर आन्दोलनमा होमिएको बताए । ‘हो म गणेशमान र मंगलादेवी सिंहको छोरा हुँ र म पार्टी संकटमा हुँदा ज्यान बाजी राखेर काम गरेको मान्छे पनि हुँ’, उनले भने, ‘त्यतिबेला अहिले मै हुँ भन्ने नेता कहाँ थिए सबैलाई याद हुनुपर्यो नि ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर