शहीद लखनको कामकाजी भाषा मगर, थप ५ जनालाई शहीद घोषणा गर्न सिफरिस — OSNepal

शहीद लखनको कामकाजी भाषा मगर, थप ५ जनालाई शहीद घोषणा गर्न सिफरिस

LC (KTM) November 13, 2021 0

पोखरा, २७ कात्तिक – गोरखाको शहीद लखन गाउँपालिकाले कामकाजी भाषाको रुपमा मगर भाषालाई चयन गरेको छ । मगरहरुको बाहुल्य बसोबास रहेको यो गाउँपालिकामा मुख्य कामकाजी भाषा नेपाली र दोस्रो भाषाको रुपमा मगर भाषा रोजिएको हो । शुक्रबार भएको कार्यपालिका बैठकले कामकाजी भाषा निर्णय गरेको हो ।

राणा शासनविरुद्ध भएको जनविद्रोहमा बलिदानी दिने जुठ्या थापा मगर, अछामी मगर, जीतमान गुरुङ अजपसिंह थापामगर र विराज थापामगरलाई शहीद घोषणा गर्न सरकारसँग पालिकाले सिफारिस पठाएको छ ।

यस्तै, कालु लम्साल, सन्त ज्ञानदिल दास, सुकदेव गुरुङ, सुपति गुरुङ र कुराल राना मगरलाई क्रान्तिकारी प्रजातान्त्रिक योद्धाको रुपमा सम्मान नेपाल सरकार र गण्डकी प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले जानकारी दिए ।

प्रथम शहीद लखन थापाको सम्मानमा ढुंगागाडेदेखि बुंकोट हुँदै मनकामनादेखि आँबुखैरेनी जोड्ने सडकलाई लखन थापा मार्ग नामाकरण गर्ने निर्णय पालिकाले गरेको छ । यो सडक लखन गाउँपालिकाको मुख्य सडक हो । यसअघि २७ माघ २०७६ को कार्यपालिका बैठकले लखन थापा मगरलाई राष्ट्रिय विभूति र जयसिंह चुमी राना मगरलाई शहीद घोषणा गर्न सिफारिस गरेको गरेको थियो । सरकारले त्यसमा कुनै सम्बोधन गरेको भने छैन ।

‘लखन थापा गोरखा र गाउँपालिकाको मात्रै होइन । देशकै गहना हुन् । उनको सम्मानमा राज्यले कन्जुस्याईं गरिरहेको छ,’ पालिका अध्यक्ष रमेश थापाले भने, ‘पहिले कुनै संयन्त्र थिएन । अब पालिका भनेको छ, हामी खोज्छौं र सम्मानको वातावरण बनाउछौं ।’ लखन थापाको स्मृतिमा पालिकाले २ फागुनमा सार्वजनिक विदा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर