शिकार खेल्न हिँडेका १७ वर्षीया रोहितले बोकेको बन्दुक पड्केर मृत्यु, सँगै गएका साथी समातिए — OSNepal

शिकार खेल्न हिँडेका १७ वर्षीया रोहितले बोकेको बन्दुक पड्केर मृत्यु, सँगै गएका साथी समातिए

LC (KTM) December 06, 2021 0

तनहुँ, २० मंसिर । तनहुँमा गोली लागेर एक युवकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका-१ थप्रकेका १७ वर्षीया रोहित मल्लको भरुवा बन्दुकको गोली लागेर आइतबार मृत्यु भएको हो ।

शिकार खेल्न जंगल गएका उनको भरुवा बन्दुक पड्केर मृत्यु भएको तनहुँका प्रहरी प्रवक्ता डिएसपि युवराज खड्काले बताए । शिकार खेल्नसँगै गएका छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई बन्दुकसहित नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

‘दुई जना मिलेर रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा शिकार खेल्न गएका रहेछन् । रोहित आफैँले बोकेको बन्दुक पड्किएको भनेर सुनबहादुरले प्रारम्भिक अनुसन्धानमा बयान दिएको छन्,’ खड्काले भने । नियन्त्रणमा लिइएको भरुवा बन्दुकको लाइसेन्स नरहेको जनाइएको छ ।

दुई जना मात्र शिकार खेल्न गएकाले घटना रहस्यमय हुन सक्ने स्थानीयको अनुमान छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर