शुक्रबार सार्वजनिक बिदा — OSNepal

शुक्रबार सार्वजनिक बिदा

LC (KTM) December 02, 2021 0

खोटाङ, १६ मंसिर -बालाचतुर्दशी मेलाको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । बालाचतुर्दशीको अवसरमा शुक्रबार त्रि-धार्मिकस्थल हलेसीमा लाग्ने मेलालाई लक्ष्यीत गर्दै नगरपालिकाले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बालाचतुर्दशी मेलाको अगाडि र पछाडि गरी हप्ता दिनसम्म लाग्ने हलेसीमा नगरपालिकाका अधिकांश स्थानीय दर्शन गर्न जाने भएकाले बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिकिरण आचार्यले जानकारी दिएका छन् ।

हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारूपमा रहेको हलेसीमा लाग्ने मेलाई बृहत् बनाउनका लागि नगरपालिकाले प्रत्येक मेलाको अवसरमा सार्वजनिक बिदा दिँदैआएको छ । बालाचतुर्दर्शीको अवसरमा बिहीबारदेखि हलेसीमा ठूलो मेला सुरु भएको छ । बालाचतुर्दर्शीका दिन हलेसीमा आफ्ना दिवंगत आफन्तको सम्झनामा सतविज छर्नका लागि दर्शनार्थीको बाक्लो भीड लाग्ने गरेको छ ।

मेला भर्न तथा दर्शन गर्नका लागि हलेसीमा जिल्लाभित्र तथा बाहिरका हजारौं दशानार्थीको घुईंचो लाग्न थालेको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । कोभिड–१९ को महामारीपछि हलेसीमा हलेसीमा दुई वर्षपछि मेला लाग्ने भएको हो । कोभिड सुरु भए यता हलेसीमा कुनै पनि मेला लाग्न सकेको थिएन ।

मध्यपहाडी लोकमार्गले छोएको हलेसीमा नेपालको सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, विराटनगर, इलाम, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बत लगायतका ठाउँबाट दर्शनार्थी आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर