सकेसम्म सहमतिमा नै नेतृत्व चयन गरौंः नेता थापा — OSNepal

सकेसम्म सहमतिमा नै नेतृत्व चयन गरौंः नेता थापा

LC (KTM) November 25, 2021 0

चितवन, ९ मङ्सिर-नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टीको १०औँ महाधिवेशनले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने बताउनुभएको छ । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका नेता थापाले यहाँ आज पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट अघि बढ्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “१०औँ महाधिवेशनले सहमतिमानै नेतृत्व चयन गर्छ । यो सम्भव छ ।”

नेता थापाले स्थानीय तहमा सहमतिमानै नेतृत्व चयन भएको भन्दै केन्द्रमा पनि यसको प्रभावपर्ने बताउनुभयो । आफू कुन पदमा उम्मेद्वारी दिने भन्ने विषयमा टुङ्गो नलागेको भन्दै उहाँले छलफलबाट पदको टुङ्गो लाग्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मेरो उम्मेदवारी के मा भन्ने टुङ्गो लागेको छैन । छलफलबाट निस्कर्ष निकाल्छौं ।”यस्तै नेकपा (एमाले)का नेता शेरबहादुर तामाङ्ले महाधिवेशनले सर्वसहमत नेतृत्व छनोट गर्ने बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले अन्तिम समयसम्म सहमतिको प्रयास हुने र सहमतिमानै नेतृत्व चयन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “साथीहरुले आन्तरिक तयारी सुरु गर्नुभएको छ । आकांक्षा राख्न पाइन्छ ।”

फरक प्रसङ्गमा बोल्दै उहाँले आफू सचिवको उम्मेद्वार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “म काममा विश्वास राख्छु । कायकर्ताले दिएको जिम्मेवारीमा बस्छु । तर अपग्रेड हुने चाहना छ ।”नेकपा एमालेका युवा नेता महेश बस्नेतले १०औँ महाधिवेशनले सबैलाई एक ठाउँमा बनाएर लैजाने बताउनुभयो । पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै उहाँले माओवदीबाट आएका र १० वुँदे सहमतिबाट आएका नेताहरुलाई व्यवस्थापन गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अन्यमा समस्या छैन । १० बँुदे सहमतिपछि आएका नेतामा केही समस्या देखिएको हो । उहाँहरुलाई जिम्मेवारी दिएर व्यवस्थापन गर्न सकिन्छ ।”

महाधिवेशनले केपी शर्मा ओलीकै नेतृत्वमा एमालेलाई अघि बढाउने भन्दै उहाँले अन्य विषयमा छलफलबाट समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको महाधिवेशनले नयाँ र युवा पुस्ताको पनि व्यवस्थापन गर्न जरुरी छ ।” आफू सचिव पदको उम्मेदवार रहेको भन्दै उहाँले जिम्मेवारी दिँदा पुराना र नयाँलाई मिलाइर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एमालेको पदाधिकारीको प्रवेश विन्दु नै सचिव हो । यसमा नयाँ र युवा पुस्ताको पनि सहभागिता आवश्यक छ ।” (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर