सदरमुकाममा अनुगमन, म्याद गुज्रेका सामान ग्रामीण भेगमा छयाप्छ्याप्ती — OSNepal

सदरमुकाममा अनुगमन, म्याद गुज्रेका सामान ग्रामीण भेगमा छयाप्छ्याप्ती

LC (KTM) November 17, 2021 0

उदयपुर, १ मंसिर – चाडपर्वका बेला ग्रामीण क्षेत्रमा म्याद गुज्रिएका, अस्वस्थ र सडेगलेका दैनिक उपभोग्य वस्तुको बिक्री हुने गरेको छ । पर्व आउन लाग्दा सहर र सदरमुकाममा अनुगमन बढी हुने भएपछि बिक्री गर्न गाह्रो हुने वस्तु व्यापारीहरूले अनुगमन नहुने ग्रामीण क्षेत्रमा पठाउने गरिएको छ ।

ग्रामीण क्षेत्रमा सडक विस्तारसँगै मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने वस्तुको बिक्री हुने गरेको छ । सहर र सदरमुकाममा उपभोक्ता सचेत भएकाले व्यापारीले खान अयोग्य चाउचाउ, बिस्कुट, पेय पदार्थ र म्याद गुज्रिएका औषधिको बिक्री ग्रामीण क्षेत्रमा गर्न थालेका छन् ।

दसैंअगावै सदरमुकाम गाईघाट, बेल्टार र कटारीमा मात्र बजार अनुगमन गरिएको छ । तर, अनुगमन गरिरहेकै बजारमा थोक बिक्रेताले म्याद गुज्रिएका, प्रयोग गर्न नमिल्ने र सडेगलेका दैनिक उपभोग्य वस्तु ग्रामीण क्षेत्रका बजारमा पठाउने गरेका छन् । सामान्य लेखपढ गरेका सर्वसाधारणलाई थाहा नहुँदा ती सामान खरिद गरी उपभोग गर्ने गरेका छन् ।

मुख्य बजारका अधिकृत बिक्रेताले ग्रामीण बजारमा खाद्यान्य, कपडा, पेय पदार्थ लगायतका वस्तु पठाउने गरेका छन् । अधिकृत बिक्रेता कहाँ आइपुग्दै म्याद सकिने र थोरै समय भएका वस्तु ग्रामीण बजारमा पठाउने गरेको पाइन्छ । दसैंतिहारलाई लक्षित गरेर थोक बिक्रेताले खाद्यान्य, कपडा, साबुन, स्याम्पु, कपालमा लगाउने तेल, दन्तमञ्जनलगायतका वस्तु महिना दिनअगावै ग्रामीण क्षेत्रमा पठाउने गर्दछन् । तर, कतिपय वस्तुको म्याद दसैंअगावै सकिएको हुन्छ । ग्रामीण क्षेत्रका उपभोक्ता ती सामान प्रयोग गर्न बाध्य हुने स्थानीयवासीको भनाइ छ ।

गाउँ घरका व्यापारीले महिनौं पहिलेदेखि नै दसैंतिहारलाई लक्षित गरी अत्यावश्यक वस्तुको जोहो गर्ने गर्दछन् । सर्वसाधारण खरिद गरेर लाग्ने समयसम्म ती वस्तुको म्याद सकिएको हुन्छ । उपभोक्ता शिक्षा नहुँदा गाउँका सर्वसाधारण सचेत छैनन् । सर्वसाधारणले प्रयोग गर्ने वस्तु चुस्तदुरूस्त हुनु पर्छ भन्ने राज्यले कानुन बनाउन सकेको छैन । त्यसैले उपभोक्ता सचेत नहुँदा व्यापारीहरूले त्यसको फाइदा लिँदै ग्रामिण भेगमा म्याद सकिएका अखाद्य वस्तु पुर्‍याएर बिक्री गर्ने गरेको पाइन्छ । बजार अनुगमन एक वर्षमा एक दिन दसैँअघि मात्र हुने गरेकाले पनि व्यापारीहरूले म्याद गुज्रिएको सामान ग्रामिण भेगमा रहेको ससाना बजारमा पठाउने गरेको पाइन्छ ।

बजार अनुगमन गर्ने जिम्मा स्थानीय प्रशासन र स्थानीय तहलाई दिएको छ । तर, स्थानीय तहले बजार अनुगमन नगर्दा यस्तो समस्या आएको उपभोक्ताहरूको गुनासो छ । स्थानीय प्रशासन र स्थानीय तहले बजारको अनुगमन नगर्दा उपभोक्ताहरू अखाद्य वस्तु प्रयोग गर्न बाध्य रहेको रौतामाई गाउँपालिकाका भरत दाहालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर