सानेपाको धर्नाले कांग्रेस केन्द्रीय समिति बैठक बुढानिलकण्ठमा सरेको दाबी — OSNepal

सानेपाको धर्नाले कांग्रेस केन्द्रीय समिति बैठक बुढानिलकण्ठमा सरेको दाबी

LC (KTM) November 14, 2021 0

काठमाडौं – महाधिवेशन प्रतिनिधि चयन निष्पक्ष नभएको भन्दै रौतहटका स्थानीय नेता कार्यकर्ताले ११५ दिनदेखि जारी राखेको धर्नाका कारण कांग्रेस केन्द्रीय समिति बैठक बुढानिलकण्ठमा हुने भएको छ ।पार्टी महाधिवेशनका लागि विभिन्न उपसमिति गठन गर्नका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बैठक बुढानिलकण्ठमा बोलाएपछि आइतबारको केन्द्रीय समिति बैठक बुढानिलकण्ठमा हुने भएको हो ।

आइतबारको केन्द्रीय समिति बैठकले १४औँ महाधिवेशन मूल तयारी समिति महाधिवेशन व्यवस्थापन समिति र पार्टीको नीति तथा कार्यक्रमको प्रस्ताव समिति गठन गर्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार प्रचारप्रसार समिति, पार्टी विधान संशोधन समिति, विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति, भोजन आवास व्यवस्थापन समिति, अर्थ संकलन समिति र स्वयंसेवक व्यवस्थापन समितिलगायतका समिति र उपसमितिहरू गठन गरिने एजेण्डा तय भएको छ ।सुरूमा सानेपा भनेर बैठक आह्वान गरेको भए पनि अन्तिम समयमा बुढानिलकण्ठस्थित देउवा निवासमा बैठक बोलाइएको पौडेलले जानकारी दिएका छन । बैठकमा सहभागी हुन नेताहरू जाने क्रम सुरु भएको छ ।

सानेपामा रौतहटका कांग्रेस नेताहरू रामश्रीष साह, देवचन्द्र मिश्र, उदय यादव, भोगेन्द्र झा, वीरेन्द्र राय यादव, नमोनाथ यादव, रामविश्वास साहलगायतका नेताहरू ११५ दिनदेखि धर्नामा छन् । ‘हाम्रो धर्नाले पनि हुन सक्छ, यहाँ हुने भनिएको केन्द्रीय समिति बैठक अचानक बुढानिलकण्ठमा सारिएको छ । तर, नेताहरूले हाम्रो माग सम्बोधन गरेका छैनन्, हामी यहाँ धर्नामा बस्छौं’, रामश्रीष साहले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर