सुदूरपश्चिमबाट १० हजार एमाले कार्यकर्ता सौराहा प्रस्थान — OSNepal

सुदूरपश्चिमबाट १० हजार एमाले कार्यकर्ता सौराहा प्रस्थान

LC (KTM) November 25, 2021 0

धनगढी, ९ मंसिर-सुदूरपश्चिमबाट तीन सय बढी सवारीमार्फत १० हजार बढी एमालेका कार्यकर्ता १०औं महाधिवेशनका लागि चितवनको सौराहा गएका छन् ।‘प्रदेशका ९ जिल्लाबाट १० हजार बढी कार्यकर्ता, महाधिवेशन प्रतिनिधि तथा व्यवस्थापक सौराहा गएका छन्,’ नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सचिव राजेन्द्र रावलले भने, ‘उनीहरूले तीन सय बढी सवारी साधन बुकिङ गरेर लगेका छन् ।’ सुदूरपश्चिमबाट धेरै कायकर्ता निजी सवारीमार्फत पनि सौराहा गएका कारण सवारीको संख्या र व्यक्तिको संख्या बढ्न सक्ने उनले बताए ।

१०औं राष्ट्रिय महाधिवेशनका लागि बझाङबाट दुई हजार बढी कार्यकर्ता चितवन गएका छन् । बझाङबाट ९ वटा बस, १२ भन्दा बढी स्कारपियो सौराहा गएका नेकपा एमाले छविस पाथिभेरा गाउँपालिका अध्यक्ष रामप्रसाद भट्टले बताए । उनका अनुसार स्थानीय तहका जनप्रतिनिधि आफै व्यवस्था गरेर सौराहा गएका छन् । नेकपा एमाले डडेल्धुराका अनुसार डडेल्धुराबाट ३ सय बढी कार्यकर्ता चितवन गएका छन् । डडेल्धुराबाट १५ वटा साना ठूला सवारी बुकिङ गरेर उनीहरू चितवन प्रस्थान गरेको एमाले डडेल्धुराका अध्यक्ष प्रकाश साउँदले बताए ।

यसैगरी डोटीबाट पनि तीन सय बढी कार्यकर्ता सौराहा गएका छन् । एमाले डोटी जिल्लाकी नेता तथा दिपायल सिलगढी नगरपालिकाकी मेयर मञ्जु मलासीका अनुसार महाधिवेशन प्रतिनिधि, शुभेच्छुक, जिल्ला कमिटी सदस्यसहित साढे तीन सय कार्यकर्ता ६ सार्वजनिक बस, ७ वटा स्कारपियो बुकिङ गरेर सौराहा गएका हुन् । बाजुराबाट २१ वटा गाडीमा १५ सय बढी कार्यकर्ता सौराहा गएका नेकपा एमालेका जिल्ला कमिटी सदस्य राजनकुमार रोकायाले बताए । जिल्ला कार्यसमिति सदस्य, एमाले वडा तथा पालिका कमिटी सदस्य, कार्यकर्तासहित एक हजार पाँच सय जना सौराहा गएको उनले बताए ।

अछामबाट तीन सय बढी एमालेका कार्यकर्ता सौराहा गएका छन् । जिल्लाबाट ८ वटा सार्वजनिक बस र ९ वटा स्कारपियो बुकिङ गरेर महाधिवेशन प्रतिनिधि तथा एमाले कार्यकर्ता सौराहा गएका एमालेका प्रदेश सचिव राजेन्द्र रावलले बताए । अछामबाट निजी सवारीमार्फत बढी कार्यकर्ता सौराहा गएका उनले बताए । यसैगरी बैतडीबाट ९ बस र १२ वडा स्कार्पीयो बुकिङ गरेर महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ता सौराहा गएका छन् । एमालेका जिल्ला कमिटी सदस्य लोकबहादुर भण्डारीका अनुसार बैतडीका सबै वडा कमिटी सदस्य, जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि तथा साधारण कायकर्ता सौराहा गएका छन् ।

दार्चुलाबाट महाधिवेशनका लागि १२ जना महाधिवेशन प्रतिनिधिसहित ५० जनाको टोली चितवन गएका नेकपा एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले बताए । सुदूरपश्चिममा सबैभन्दा बढी कार्यकर्ता कैलालीबाट सौराहा गएका छन् । कैलालीका १ सय २६ वटै वडाबाट एउटा सवारी सौराहा गएको एमाले कैलालीका उपाध्यक्ष रणबहादुर चन्दले बताए । यसका साथै महाधिवेशन प्रतिनिधि, व्यवस्थापक, जिल्ला कार्यसमितिका पदाधिकारी गरी १ सय १५० वटा सवारी चितवनतर्फ गएका उनले बताए ।

‘एउटा वडाबाट कम्तीमा एउटा सवारी बुकिङ भएर सौराहा गएको छ,’ उपाध्यक्ष चन्दले भने,‘जिल्ला, कमिटी, पालीका कमिटी र महाधिवेशन प्रतिनिधि पनि आफ्नै व्यवस्था गरेर गएका छन् । त्यस बाहेक धेरै कार्यकर्ता आफ्नै निजी सवारीमार्फत सौराहा गएका छन् ।’ कैलालीबाट पाँच हजार भन्दा बढी एमालेका कार्यकर्ता सौराहा गएको अनुमान गरिएको उनले बताए । नेकपा एमालेका प्रदेश सचिव राजेन्द्र रावलले ठूलो संख्यामा चितवन पठाइएको बताएका छन् । सुदूरपश्चिमबाट एमालले १ सय ७० जना महाधिवेशन प्रतिनिधि छनोट गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर