सुरक्षा पन्त र बिराज बिष्ट अभिनि चलचित्र ‘बुलाकी’ डोल्पामा छायांकन हुँदै — OSNepal

सुरक्षा पन्त र बिराज बिष्ट अभिनि चलचित्र ‘बुलाकी’ डोल्पामा छायांकन हुँदै

LC (KTM) November 18, 2021 0

काठमाडौं । तिहारलगत्तै चलचित्र ‘बुलाकी’ डोल्पामा छायांकन भइरहेको छ । डोल्पाको त्रिपुरा नगरपालिकाको सुगाउँ, लहरा लगायतका स्थानमा छायांकन भइरहेको यस चलचित्रको ३५ प्रतिशत काम सकिएको निर्माण पक्षले जनाएको छ । चलचित्रका लागि तिहारअघि नै चलचित्र युनिट काठमाडौंबाट डोल्पा पुगेको थियो ।

छत्रेश्वरी म्यानेज्मेन्ट प्रालिको ब्यानरमा मोति बिष्टको प्रस्तुति र गोपाल बिष्ट निर्माता रहेको यस चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरिरहेका छन् । चलचित्रमा नरेन खड्का, सुरक्षा पन्त, नवअभिनेता बिराज बिष्ट, प्रकाश कँडेल, सरस्वती खत्री लगायतका कलाकारको मुख्य भूमिका छ । इन्टरनेट तथा मोबाइल टावरको प्रचुर व्यवस्था नभएका स्थानमा छायांकन भइरहेकाले आफूहरु अर्कै दुनियाँमा पुगेजस्तो महशुस भइरहेको अनुभव नवअभिनेता बिराजले सुनाए । उनले भने, ‘यहाँ न नेट छ, न मोबाइल टिप्छ । सौर्य दैनिकमा खबर छ । हामीहरु अर्कै दुनियाँमा आएजस्तो महशुस भइरहेको छ ।’

अभिनेत्री सुरक्षाले केही दिनअघि भौगोलिक, सामाजिक तथा प्राकृतिक हिसावले बेग्लै स्थानमा त्यहाँका बासिन्दा जसरी बाँच्दाको अनुभूति फेसबुकमा पोस्ट गरेकी थिइन् । उनले धेरै कुरा लेख्न मन लागे तापनि नेट नहुँदा असमर्थ भएको जनाएकी छन् । कर्णाली भेगको मौलिक कथामा निर्माण भइरहेको यस चलचित्रका छायांकार शिव ढकाल हुन् । से–फोक्सोन्डो तालमा समेत खिचिने चलचित्रमा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, कमल गाउँले, अमित परियार लगायतको समेत अभिनय रहेको निर्माण पक्षले जनाएको छ । सौगता कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ का गीतमा गोविन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ । चलचित्रको पूरा छायांकन सकिन अझै दुई साता लाग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर