सेयर बजारमा एकै दिन १७ अर्बकाे कारोबार, बन्याे नयाँ कीर्तिमान — OSNepal

सेयर बजारमा एकै दिन १७ अर्बकाे कारोबार, बन्याे नयाँ कीर्तिमान

LC (KTM) May 31, 2021 0

काठमाडाैँ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८-०७९ का लागि बजेट सार्वजनिक गरेको भोलिपल्ट आइतबार सेयर बजारको कारोबारमा रेकर्ड कायम भएको छ । आइतबार बजार सामान्य उकालो लागेर हालसम्मकै उच्च रेकर्ड कायम भएको हो ।

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १२.५४ अंकले वृद्धि भई २८२७.९३ अंकमा पुगेको छ । यसैगरी एकैदिन १७ अर्बबराबरको कारोबार भएको छ । यसदिन २१९ कम्पनीका ४ करोड २६ लाख कित्ता सेयर किनबेचबाट १७ अर्ब २ करोड ८४ लाख बराबरको कारोबार भएको छ । नेप्से सूचक र कारोबार रकम हालसम्मकै उच्च हो ।

शनिबार सार्वजनिक बजेटले पुँजीगत लाभकरमा कडाइ गरे पनि बजारमा सकारात्मक असर देखिएको हो । सरकारले कोभिड–१९ को संक्रमण रोक्न निषेधाज्ञा जारी गरेसँगै सेयर बजारमा उच्च कारोबार भइरहेको छ । निषेधाज्ञाका कारण आर्थिक गतिविधि बन्द हुँदा लगानीका क्षेत्र ठप्प भएसँगै सेयर बजारमा लगानी बढेको बताइएको छ ।यो खबर आजको काराेबार दैनिकमा छ ।

आइतबार नेप्सेसँगै अधिकांश समूहगत परिसूचक पनि उकालो लागेका छन् । यसदिन बैंकिङ, होटल तथा टुरिजम, विकास बैंक, फाइनान्स, निर्जीवन बिमा, जीवन बिमा र म्युचुअल फण्ड उकालो लागेका छन् भने व्यापार, जलविद्युत, उत्पादन, अन्य र लगानी समूह भने घटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर