सोलुखुम्बुको उच्च हिमाली क्षेत्रमा हिमपात, जनवीवन प्रभावित — OSNepal

सोलुखुम्बुको उच्च हिमाली क्षेत्रमा हिमपात, जनवीवन प्रभावित

LC (KTM) October 19, 2021 0

सोलुखुम्बु, कात्तिक २-हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । जिल्लाको उच्च हिमाली क्षेत्रमा वर्सातसँगै हिमपात भइरहेको स्थानीयवासीले बताएका छन् । अहिले करिब चार हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा हिमपात भइरहेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो ।

खुम्बु क्षेत्रमा पर्ने लुक्ला, नाम्चे खुम्जुङ, थामेसहितको क्षेत्रमा सोमबारदेखि निरन्तर वर्षा हुँदा चिसो महसुस भएको स्थानीयवासी लामाकाजी शेर्पाले बताउनुभयो । उहाँका अनुसार कोङदे, थामसेर्कु, आमादब्लमलगायतका क्षेत्रमा आज बिहान करिब १० बजेदेखि नै हिमपात भइरहेकोे छ ।

निरन्तरको वर्षा तथा हिमपातका कारण खुम्बुको माथिल्लो क्षेत्र भ्रमणमा निस्केका पर्यटकहरु सोमबार बास बसेकै ठाउँमा रोकिएको शेर्पाले बताउनुभयो । अहिले खुम्बु क्षेत्रका स्थानीयवासीको जनजीवन प्रभावित बनेको बताइएको छ । उनीहरुले हात मुखसमेत धुन नसकिरहेको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो ।

सदरमुकाम सल्लेरीसहित जिल्लाको तल्लो क्षेत्रमा समेत आज बिहानैदेखि भारी वर्षा भइरहेको छ । वर्षाले यहाँका नागरिकको जनजीवन प्रभावित बनेको छ । दसैँको बेला टण्टलापुर घाम लागेको भए पनि टीका सकिएको केही दिनमै भारी वर्षा हुँदा सडक हिलाम्मे छ भने बजार क्षेत्र सुनसान देखिएको छ । साप्ताहिक हाट नेले बजारसमेत सुनसान हुँदा व्यापारी रित्तो हात फर्केको कपडा व्यापारी बिकाउ दासले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर