स्वास्थ्य मन्त्रालयले भन्यो–‘लामो अन्तरमा खोप लगाउँदा पनि प्रभावकारी हुन्छ’ — OSNepal

स्वास्थ्य मन्त्रालयले भन्यो–‘लामो अन्तरमा खोप लगाउँदा पनि प्रभावकारी हुन्छ’

LC (KTM) August 14, 2021 0

काठमाडौँ ३० साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धेरै समयका अन्तरमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ । मन्त्रालयले ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएकाले उक्त खोपले काम गर्ने स्पष्ट पारेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएको करिब पाँच महिनापछि दोस्रो मात्रा लगाए पनि खोपले काम गर्ने जानकारी दिए । गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्ष माथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई सो खोपको पहिलो मात्रा लगाएकामा अहिले करिब पाँच महिनापछि ‘एस्ट्राजेनिका’ खोपको दोस्रो मात्रा दिइएको छ ।

“कोभिशिल्ड÷एस्ट्राजेनिका खोप लगाउँदा दुई मात्रा बीचको अन्तराल दुईदेखि तीन महिना हुन्छ भनिएकामा अहिले पाँच महिनापछि दोस्रो मात्रा दिएको छ,” उनले भने, “यसबीच भएका अध्ययनले पहिलो मात्राले पनि काम गरिरहने र धेरै समयको अन्तरालमा दोस्रो मात्रा लगाउँदा पनि प्रभावकारी हुने देखिएका छन् ।”

उनले पहिलो मात्रा र दोस्रो मात्राको अन्तराल पाँच महिनाको भए पनि खोपले प्रभावकारी रुपमा काम गर्ने भएकाले ढुक्क भएर ‘एस्ट्राजेनिका’ खोपको दोस्रो मात्र लगाउन अनुरोध गरेका छन्।

भूटानबाट दुई लाख ३० हजार र जापानबाट पाँच लाख १३ हजार मात्रा ‘एस्ट्राजेनिका’ खोप आइसकेपछि मन्त्रालयले कोभिशिल्डको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाएको हो ।

उनले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने भएकाले कोभिशिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्राका रुपमा एस्ट्राजेनिका लगाइएको जानकारी दिए । हालसम्म ४६ लाख ५९ हजार चार सय १४ पहिलो मात्रा र ३२ लाख २३ हजार ६ सय ९३ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर