हस्तकला व्यापार मेला सम्पन्नः आठ करोड बराबरको कारोबार — OSNepal

हस्तकला व्यापार मेला सम्पन्नः आठ करोड बराबरको कारोबार

LC (KTM) November 21, 2021 0

काठमाडौँ, ५ मङ्सिर-१८औँ हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल हस्तकला महासङ्घद्वारा काठमाडौँको ह्यात होटेलमा आयोजित तीन दिनसम्म चलेको मेलामा करिब रु आठ करोडको कारोबार भएको हो । कार्यक्रमको समापनमा वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाली हस्तकलाको विदेशमा राम्रो माग भएको भन्दै हस्तकला क्षेत्रको विकास र विस्तारका लागि प्रदेश सरकार लाग्ने बताउनुभयो । उहाँले नेपालको अर्थतन्त्रमा हस्तकला क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी ‘श्रेष्ठ’ले यस्ता मेलाले नेपाली हस्तकलाको प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदै हस्तकला क्षेत्रको प्रवद्र्धनका लागि महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले निर्यात व्यापार र रोजगारी सिर्जनाका साथै देशको कलासंस्कृतिको संरक्षण संवद्र्धनमा हस्तकलाको महत्वपूर्ण भूमिका रहेकाले यस क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । महासङ्घका उपाध्यक्ष एवम् मेलाका संयोजक रवीन्द्र शाक्यले मेलामा एक लाखभन्दा बढीले अवलोकन गरेको बताउनुभयो । सो अवसरमा १६औँ कला प्रतियोगिताका विजेताहरुलाई नगदसहित पुरस्कृतसमेत गरिएको थियो ।

नेचुरल फाइवरतर्फ दाङकी सुनिताकुमारी चौधरी प्रथम, पुनम महर्जन द्वितीय र आशा माया महर्जन तृतीय हुनुभएको छ । यस्तै, परम्परागत विधा जडाउ कलातर्फ नरेन्द्र बज्राचार्य प्रथम, राजु बज्राचार्य द्वितीय र राम बज्राचार्य तृतीय हुनुभएको छ । मेलामा विभिन्न हस्तकला विधाका १२० भन्दा बढी स्टल रहेका थिए । सो अवसरमा ७० वर्ष नाघेका ज्येष्ठ कलाकारलाई सम्मान समेत गरिएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर