हिउँमाथि बसेर परीक्षा दिएको तस्बिर सामाजिक संजालमा भाइरल — OSNepal

हिउँमाथि बसेर परीक्षा दिएको तस्बिर सामाजिक संजालमा भाइरल

LC (KTM) January 06, 2022 0

पोखरा, २२ पुस-अघिल्लो साता अप्रत्यासित रुपमा हिउँ पर्यो । पूर्व सूचना थिएन । अन्य बेला हिउँ नपर्ने ठाउँमा समेत हिमपात भयो । अहिले पनि मौसम खुलिसकेको छैन । उत्तरी गोरखा पूरै हिमालसँग जोडिएको छ । सामान्य मौसम फेरबदलमै यहाँ हिमपात हुन्छ । केही दिनअघि एउटा तस्बिर सार्वजनिक भएको थियो जहाँ हिउँमाथि टेबुल कुर्सी राखेर विद्यार्थीले परीक्षा दिँदै गरेका थिए ।

यो तस्बिर गोरखाको चुमनुब्री गाउँपालिका-४ गापस्थित नुब्री आधारभुत विद्यालयको प्रथम त्रैमासिक परीक्षाको थियो । एक्कासी हिमपात भयो, शिक्षकहरूले पूर्वनिर्धारित परीक्षा रोक्न सकेनन् । कक्षाकोठामा राखेर परीक्षा दिन नसक्ने अवस्था नभएपछि विद्यार्थीलाई बाहिर राखेर परीक्षा दिन लगाइयो । टेबुलकुर्ची हिउँमाथि राखिएको थियो, त्यहीँबाट विद्यार्थीले परीक्षा दिए । १ देखि ८ कक्षासम्म पढाई हुने उक्त स्कुलका ९० बालबालिकाले हिउँमाथि बसेर परीक्षा दिए । पहिलो र दोस्रो सिफ्ट गरेर परीक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक गणेश ढकालले जानकारी दिए ।

‘परीक्षा सुरू भएपछि हिउँ पर्न थाल्यो । भित्र राख्दा झनै जाडो हुने भएपछि बाहिर राखेर परीक्षा दिन लगाएका हौं,’ उनले भने, ‘हतार गरेर परीक्षा सक्यौं । स्कुल बन्द गरेर हामी चाहीँ बेँशी झरेका छौं, विद्यार्थी घरतिरै छन् ।’ गाउँपालिका र वडाको मौखिक निर्देशनपछि एक महिनाका लागि विद्यालय बन्द गरेको र एक महिनापछि सोही भवनमा स्कुल सन्चालन गरिने ढकालले बताए ।

चुमनुब्रीमा एउटा मात्रै घुम्ती विद्यालय छ । मनाङ र मुस्ताङका विद्यालयले पोखरा, लमजुङ, काठमाडौंलगायत ठाउँमा घुम्ती पढाई चलाउँछन् । तर, गोरखामा त्यो व्यवस्था नभएकोले समस्या परेको उनले बताए । ‘घुम्ती स्कूल भए सजिलो हुन्थ्यो । हाम्रो तिर सरकारले त्यो सुविधा दिएको छैन,’ उनले भने, ‘आफै गरौं भने स्राते पुग्दैन । विद्यार्थीलाई यसरी गाह्रो हुन्छ ।’ उत्तरी गोरखा भौगोलिक रुपमा विकट र चेतनास्तरमा पनि कमजोर छ । सरकारले आवासीय विद्यालयको अवधारणा ल्याए पनि कार्यान्वयन राम्रो छैन ।

तस्बिर सौजन्य–गणेश ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर