हिमाल डेन्टलमा पहिलोपटक अर्थोग्न्याथिक सर्जरी सफल, अब उपचार गर्न विदेश जानुपर्ने बाध्यता हट्यो — OSNepal

हिमाल डेन्टलमा पहिलोपटक अर्थोग्न्याथिक सर्जरी सफल, अब उपचार गर्न विदेश जानुपर्ने बाध्यता हट्यो

LC (KTM) January 02, 2022 0

काठमाडौं, १८ पुस-हिमाल डेन्टल हस्पिटलले अर्थोग्न्याथिकको सफल सर्जरी गरेको छ । नेपालको निजी अस्पतालहरुमा काठमाडौंको धुम्बाराहीस्थित हिमालले पहिलोपटक अत्याधुनिक प्रविधिले अनुहारको आकृति मिलाउने यो शल्यक्रियामा सफलता हात पारेको हो ।

जर्मनी र ताइवानबाट विशेष तालिम प्राप्त चिकित्सकको टोलीले हिमाल डेन्टल हस्पिटलमा अत्याधुनिक प्रविधिको प्रयोग गरेर अनुहारको आकृति मिलाउने शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।

शल्यक्रियामा संलग्न चिकित्सकहरुका अनुसार हालसम्म निजी क्षेत्रका डेन्टल हस्पिटलको अगुवाइमा अर्थोग्न्याथिक सर्जरी गरिएको शल्यक्रिया पहिलो हो । यसअघि नेपालमा वीर अस्पतालमामात्र यो सेवा उपलब्ध थियो ।

काठमाडौं बौद्ध निवासी १९ वर्षीय एक जना युवकमा पहिलोपटक अनुहारको आकृति मिलाउने शल्यक्रिया सफलताका साथ सम्पन्न गरिएको हिमाल डेन्टल हस्पिटलका अध्यक्ष एवं कार्यकारी निर्देशक राजेन्द्र भट्टले जानकारी दिए । उक्त शल्यक्रिया गर्न ७ घण्टा लागेको थियो ।

विज्ञ दन्त चिकित्सक डा. किशोर भण्डारी र डा. मनीष बज्राचार्यको टिमले ओम हस्पिटलको प्राविधिक सहयोगमा हिमाल डेन्टल हस्पिटलमा यो शल्यक्रिया सम्पन्न गरेको अध्यक्ष भट्टले बताए । डा. किशोर भण्डारीको नेतृत्वमा डा. नारायण शर्मा लामिछाने र डा. गौरव कर्ण सम्मिलित टोलीले उक्त शल्यक्रिया गरेको हो । यस शल्यक्रियामा महत्वपूर्ण मानिने भर्चुअल प्लानिङ र थ्रिडी प्रिन्टिङजस्ता आधुनिक कार्य डा. उज्ज्वल प्याकुरेलले गरेका थिए ।

विभिन्न कारणले बिग्रिएको अनुहारको आकृति मिलाउने शल्यक्रिया नेपालका लागि दुर्लभ भएको शल्यक्रियामा संलग्न डा. किशोर भण्डारीले जानकारी दिए । नेपालमा यो सुविधा नभएर आकृति मिलाउने शल्यक्रिया गराउन थुप्रै नेपाली विदेश जाने गरेका थिए । हिमाल डेन्टलमै अब यो सुविधा उपलब्ध भएपछि अनुहारको आकृति मिलाउनका लागि विदेश जानु पर्ने अवस्था हटेको शल्यक्रियामा संलग्न अर्का विज्ञ दन्त चिकित्सक डा. मनिष बज्राचार्यले बताए ।

अनुहारको असामान्य आकृति के हो ?

डा.भण्डारीका अनुसार सामान्य अर्थमा भन्नु पर्दा अनुहारको माथिल्लो र तल्लो हड्डी बीचको सन्तुलन कायम नहुँदा देखिने असामान्य आकृतिलाई फेरियल डिफोमिटिज् भनिन्छ । यसको शल्यक्रियाका माध्यमबाट गरिने उपचार विधिलाई अनुहारको आकृति मिलाउने शल्यक्रिया भनिन्छ । शारीरिक विकास हुने क्रममा अनुहारको हड्डीबीचको सन्तुलन कायम नहुँदा विभिन्न प्रकारका फेरियल डिफोमिटिज् उत्पन्न हुन सक्छन । जस्तै: अनुहारको माथिल्लो भागको हड्डी चाहिने मात्रामा विकास नहुनु, चिउँडो बांगिएर अनुहारको आकृति असामान्य हुनु, माथि र तलको दाँतको समुन्वय नमिल्दा मुख बन्द नहुनु आदि । यसका अलावा बाल्यकालमा अनुहारमा लागेका चोटपटकको सही उपचार नहुँदा पनि युवा अवस्थामा अनुहारको बनावट असामान्य रूपले विकसित हुन सक्छ ।

डा. बज्राचार्यका अनुसार यस प्रकारको अवस्थाका कारण अनुहारको आकृति असामान्य हुनुका साथै दैनिक क्रियाकलापहरूमा समेत भौतिक तथा मानसिक असर देखिन्छ । जस्तै: राम्ररी खाना चपाउन नसक्नु, बोली स्पष्ट नहुनु, बोल्दा थुक बाहिर उछिट्टिनु, अनुहारको मांसपेशीमा अत्यधिक दबाब पर्न गई अनुहारको जोर्नीमा नकारात्मक असर पर्नु, श्वासप्रश्वास नली साँघुरिएर निद्रामा असर पर्नु र आत्मविश्वासको कमी हुनुलगायत समस्या हुने गर्दछ ।

उपचारको विधि

सामान्यतया यस किसिमको शल्यक्रिया गर्नुभन्दा पहिले दाँतमा ब्रसेस बाधिन्छ र शल्यक्रियामार्फत अनुहारको माथिको हड्डीलाई नयाँ पोजिसनमा सारी टिटानियम प्लेट्सले फिक्स गरिन्छ । सम्पूर्ण शल्यक्रिया मुखभित्रबाट गरिन्छ र अनुहारमा कुनै किसिमको दाग देखिँदैन । यो शल्यक्रिया गर्न ४ देखि ८ घण्टाको समय लाग्छ । शल्यक्रिया गरिसकेपछि सेवाग्राहीले १ देखि ३ दिनमात्र अस्पताल बस्नुपर्छ । घर गएपछि १ देखि २ हप्ता आराम गर्नुपर्छ । करिब ६ हप्तासम्म झोलिलो खानेकुरा खानुपर्छ । शल्यक्रिया भएको २ देखि ३ हप्तापश्चात ब्रच्स बाध्ने काम सुरु हुन्छ, जुन ६ महिनादेखि डेढ वर्षसम्म जारी रहन्छ । यस किसिमका शल्यक्रियामा संसारभरिमै उत्कृष्ट मानिने कम्प्युटरको सहायताले अनुहारको बनोट निर्क्योल गरिने आधुनिक तथा उच्च प्रविधिको प्रयोग गरिन्छ ।

पैसा नहुनेलाई किस्ताको सुविधा

नेपालमा अनुहार तथा दाँतको सिटी स्क्यान गर्नु आधुनिक प्रविधि सिबीसिटी जडान गर्ने, हस्पिटलभित्रै अत्याधुनिक डिजिटल डेन्टल ल्याव सिएडी र सिएए स्थापना गर्ने पहिलो निजी डेन्टल हिमालले बैंकसँगको सहकार्यमा एकमुष्ट उपचार रकम तिर्न नसकिने बिरामीहरूलाई शून्य ब्याजदरमा किस्तामा रकम बुझाउने व्यवस्थासमेत गरेको छ । ‘बैंकिङ सपोर्ट किनभन्दा ४०/५० हजार पनि तिर्न नसक्ने अवस्थाका विरामीले उपचार पनि पाउन र विस्तारै तिर्न सकियोस् भनेर हो,’ अध्यक्ष भट्टले भने, ‘टोटल बिलको १० प्रतिशत भुक्तानी हामीले सुरुमै दिन्छौं । बाँकी पछि भुक्तानी हुन्छ ।’

अबको लक्ष्य भारतीय विरामी

अर्थोग्न्याथिक सर्जरीमा सफलता हात पारेको हिमाल डेन्टलले अब भारतीय विरामीलाई लक्षित गरेर अघि बढ्ने भएको छ । भारतको सिक्किम, दार्जिलिङ, सिलगुढीलगायत ठाउँलाई लक्षित गरेर इलामको सीमावर्ती क्षेत्रमा आगामी वैशाखमा शाखा तथा सेवा विस्तार गरिने अध्यक्ष भट्टले बताए । ‘डेन्टल टुरिजमलाई हिमालले बढावा दिनेछ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर