सिन्धुलीमा पन्ध्र, १६ र १७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने छ जना पक्राउ — OSNepal

सिन्धुलीमा पन्ध्र, १६ र १७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने छ जना पक्राउ

LC (KTM) October 25, 2021 0

सिन्धुलीमा असोज ३० गते बिहानीपख भएको सामूहिक बलात्कार घटनाका फरार आरोपितहरुलाई प्रहरीले पक्राउ गरेको छ । फरार रहेका छ मध्ये पाँच र उनीहरुलाई भगाउन सहयोग गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

गत असोज ३० गते नौजनाको समूहले तीन बालिकालाई कमलामाई नगरपालिका–५ लब्दा खोलाको बगर र बाँसको झ्याङमा सामूहिक बलात्कार गरेका थिए । घटनामा संलग्न तीनजनालाई सोही दिन प्रहरीले पक्राउ गरेको थियो । अरू छ जना घटनापश्चात् फरार भएकामा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । एकजनाको भने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पन्ध्र, १६ र १७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सोही दिन कमलामाई नगरपालिका–५ बोझे घर भएका २२ वर्षीया हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो ।

साथै घटनापश्चात् फरार रहेका आकाश मगर, दीपक मगर, अर्जुन मगर, धनबहादुर बम्जन, मिलन लामा र विश्व राई फरार रहेका थिए । फरारमध्ये कमलामाई–५ बोजेका २० वर्षीय दीपक मगर, २३ वर्षीय अर्जुन मगर, २३ वर्षीय धनबहादुर बम्जन र २१ वर्षीय मिलन लामालाई महोत्तरीको बर्दिबासबाट पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

सर्लाहीको हरिवन नगरपालिका–८ मा नातामा भई पर्ने ईश्वर आलेको घरमा बस्दै आएकामा उनीहरु बर्दिबासबाट भारततर्फ जाने तयारी गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनुभयो ।

फरार रहेका आरोपित आकाश मगर बर्दिबासबाट भक्तपुरमा लुकिछिपी बस्दै आएकामा भक्तपुरमा खोजी गर्दा पुनः सिन्धुलीतर्फ आउँदै गरेको अवस्थामा कात्तिक ७ गते सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटबाट पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । घटनामा संलग्न फरार रहेका विश्व राईको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

साथै घटनापश्चात आरोपितलाई भगाउन सहयोग गर्ने छ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमलामाई–५ बोजेका सञ्जीव मगर, प्रेम श्रेष्ठ, सुमन थापा, कमलामाई–४ का शिव देवकोटा, कमलामाई–६ का मेघबहादुर श्रेष्ठ र सर्लाहीको हरिवन–८ ईश्वर आलेलाई पनि पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

आरोपित भगाउन प्रयोग भएको बा१०च १८३६ नंको स्कार्पियो, प्रदेश २–०२–००३ प १२१० र प्रदेश २–०२–००४ प ५३७६ नंको मोटरसाइकल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर