वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा यात्रुहरु बिच बाटोमै अलपत्र



म्याग्दी-मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो र बाढी जाँदा म्याग्दी सदरमुकाम बेनी जोड्ने सबै सडक अवरुद्ध भएका छन् ।बुधबार बिहानैदेखि अवरुद्ध भएका राष्ट्रिय राजमार्ग र ग्रामीण सडकहरु बिहीबारसम्म पनि सञ्चालनमा आउन नसक्दा यात्रुहरु अलपत्र परेका छन् । तत्काल सडक सञ्चालन हुन सक्ने अवस्था नदेखिएपछि अधिकांश यात्रु पैदल हिडेरै आ–आफ्नो गन्तव्यतर्फ लागेका स्थानीयवासीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयको सवारी आवागमन सूचना केन्द्रका अनुसार उत्तरी म्याग्दी हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक खण्डअन्तर्गत जलेश्वर, बेगखोला, रुप्से झरना र पश्चिम म्याग्दी जाने बेनी–दरबाङको घुमाउने भीरमा पहिरो गएकाले सो सडक अवरुद्ध भएको छ । त्यस्तै बेनी–बागलुङको रत्नेचौर–रानीवन, बेनी–मालढुङ्गा–कुस्माको सहस्रधारा सडक खण्ड पनि अवरुद्ध भएको छ । “भारी वर्षाका कारण सडक मर्मत कार्यको सम्भावना अत्यन्त न्यून देखिएको छ, अवरुद्ध भएका स्थानहरुको थप सूचना प्राप्त गर्दछौं”, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले भन्नुभयो । मौसममा सुधार आएसँगै सडक मर्मत गरेर सञ्चालनमा ल्याउने बताइएको छ ।

Comment