भ्रातृत्वको सन्देश बोकेर भारतीय साइकल यात्री नेपालगञ्जमा — OSNepal

भ्रातृत्वको सन्देश बोकेर भारतीय साइकल यात्री नेपालगञ्जमा

LC (KTM) October 25, 2021 0

नेपालगञ्ज ८ कात्तिक- नेपाल–भारतबीच जनस्तरबाट भ्रातृत्वको सम्बन्ध प्रगाढ बनाउने उद्देश्य बोकेर भरतीय साइकल यात्री रामप्रसाद नस्कर नेपालगञ्ज आइपुगेका छन् । आइतबार नेपालगञ्ज आइपुगेका उनी २६ दिन अघि भारतको कलकत्ताबाट साइकल यात्रामा निस्केका हुन् ।

गत ३० सेप्टेम्बर २०२१ मा भारतको वेस्टबंगाल कलकत्तास्थित शुभाषग्रामबाट नेपाल यात्रा सुरु गरेका उनी पेसाले भूगाेलका शिक्षक हुन् । कोरोनाको कारण आह्वान गरिएको लकडाउनले गर्दा विद्यालय बन्द भएपछि समयको सदुपयोग गर्दै जनस्तरबाट भ्रातृत्वको सन्देश लिएर पूर्वी नेपालको काँकडभिट्टा हुँदै नेपाल प्रवेश गरेको उनी बताउँछन् । काँकडभिट्टा प्रवेश गरेकाे २६ दिनमा उनी नेपालगञ्ज आइपुगेका हुन् ।

‘भ्रातृत्वको सम्बन्ध स्थापनाको लागि र नेपालको भौगोलिक अवस्थाबारेमा अध्ययन गर्न साइकलमै नेपाल आएको हुँ’, उनले भने । उनी सामान्य साइकलमा आफ्नो एकसरो सामान बोकेर यात्रामा निस्केका छन् ।

साइकलको अगाडि ह्याण्डिलमा नेपाल र भारतको झण्डा राखेका उनले भूगोल पढाउँदै गर्दा उनलाई नेपाल वरपरको भौगोलिक अवस्थाबारे जान्न मन लागेपछि आफूले यो यात्रा सुरु गरेको उनले बताए । उनी पूर्वबाट नेपाल प्रवेश गरी महाकालीसम्म पुगेर महेन्द्रनगरेको गड्डाचौकी हुँदै भारत प्रवेश गर्ने योजना रहेको बताए ।

उनी नेपालका सातवटै प्रदेशको राजधानी तथा प्रमुख शहरमा पुग्ने उद्देश्यअनुरुप विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौँडा, काठमाडाैँ, मुग्लिन, पोखरा, नारायणघाट, बुटवल, भालुवाङ हुँदै कोहलपुर, नेपालगञ्ज आइपुगेको बताउँछन् ।

नेपाल प्रवेश गर्दा काँकडभिट्टाको सीमामा केही दु:ख पाए पनि यात्रा सुखद भएको उनी बताउँछन् । दिनभरी साइकलमा यात्रा गर्ने उनी साँझ परेपछि पाटी पौवा तथा सार्वजनिक स्थलमा आश्रय लिने गरेको बताए । बदलिँदो भौगोलिक परिवेशबारे चिन्ता व्यक्त गर्दै व्यक्ति र वातावरण दुवैका लागि साइकल पर्यावरणमैत्री भएकोले साइकल यात्राको प्रवर्द्धन गर्नु पनि पनि आफूले साइकल यात्रा सुरु गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर