लगातारको वर्षाले तरकारी खेती सखाप भएपछि किसानको रुवाबासी — OSNepal

लगातारको वर्षाले तरकारी खेती सखाप भएपछि किसानको रुवाबासी

LC (KTM) October 25, 2021 0

झापा, ८ कात्तिक – कमल गाउँपालिका–१ का ४५ वर्षीय लोकबहादुर पाण्डेले तरकारी खेतीबाट मनग्गे आम्दानी गरिरहनुभएको थियो । वार्षिक खर्च कटाएर रु पाँच लाख आम्दानी गर्दै आउनुभएको उहाँको यसपटक भने ओठमुख सुकेको छ । वर्षाका कारण बारीमा लगाएको तरकारी नष्ट नभएपछि उहाँको ओठमुख सुकेको हो । उहाँले १२ कठ्ठा जमिनमा बेमौसमी तरकारी खेती लगाउनुभएको थियो । बारीमा लहलहाउँदो भएको रायो साग, हुर्कँदै गरेको काँक्रा, बोडी, फर्सी सबै पानीले डुबान भएपछि नष्ट भएको छ । ग्रामीण क्षेत्रमा बिना अनुदान तरकारी खेती गरेर परिवारको जीविकोपार्जन गर्दै आउनुभएको उहाँले भन्नुभयो, “पानीले बास त उठाएन तर अब गाँस भने खोस्यो ।” कमल–२ का टङ्क कट्टेलको पाँच कठ्ठामा लगाएको आलु खेतीमा क्षति पुगेको छ । उहाँले समयमै धान काटेर आलु रोप्नुभएको थियो । उम्रन लागेको आलु बारीमा बेमौसमी वर्षाले पानी जमेपछि सबै मरेको छ । मल, बीउ मात्र होइन लगानी खेर गएकाले उहाँ चिन्तित हुनुहुन्छ ।

बाह्रदशी गाउँपालिका–१ मा बिरिङ नदीमा आएको बाढीले ३० बिघा तरकारी खेती बगरमा परिणत भएको छ । मुस्लिम समुदायको बसोबास रहेका ३० घर परिवारले काउली, टमाटर, करेला र भण्टा लगाएका थिए । व्यावसायिक तरकारी खेती गरेर जीवन धान्दै आएका सामान्य परिवारका उनीहरुको तरकारी बारी बगरमा परिणत भएपछि बेहाल भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले बताउनुभयो ।

प्रमुख सिंहले भन्नुभयो, “अरु पेशा र व्यवसाय नभएका उनीहरुको बारी नै बगर भएको छ । खेतीबाटै जीवन धान्न गरिएका किसानको तरकारी खेतीबालीमा ठूलो नोक्सान भयो । तीनै तहका सरकारले उनीहरुलाई राहतको व्यवस्था गरोस् भन्ने उद्देश्यले क्षतिको लगत सङ्कलन गरेर कृषि मन्त्रालयमा पठाइरहेका छौँ ।” उहाँका अनुसार जिल्लामा करिब ४० बिघा मौसमी र बेमौसमी तरकारी खेतीमा वर्षाले क्षति पु¥याउँदा रु ३० लाखभन्दा बढी किसानको क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर