दोधारमा किसान : पाकेको धान काटौँ कि नकाटौँ — OSNepal

दोधारमा किसान : पाकेको धान काटौँ कि नकाटौँ

LC (KTM) October 26, 2021 0

तनहुँ – कात्तिकको सुरुवातसँगै भएको बेमौसमी वर्षा तनहुँमा शनिबारदेखि रोकिएको छ । सोमबारदेखि बल्ल घाम लाग्न सुरु भए पनि मौसम खुलिसकेको छैन । मौसम बादल लागेर धुम्म भइरहेको छ । छर्लङ्ग मौसम नखुल्दा किसानले खेतमा लगाएको धान पाकेर पहेँलपुर हुदाँसमेत काट्ने हिम्मत जुटाउन सकेका छैनन् ।

बेमौसमी वर्षाले तर्सिएका जिल्लाका किसान धान काट्दा भन्दा नकाट्दा कम क्षति हुने आकलन गरेर खेतमा पस्न नसकेको बताउँछन् । अन्य जिल्लाको तुलनामा तनहुँमा बेमौसमी वर्षाले कम क्षति पुर्‍याएको छ । तसर्थ जब आकाशको बादल हटेर मौसम खुल्छ त्यसपछि बल्ल धान काट्न सुरु गर्ने मनस्थितिमा किसान छन् । मौसम यस्तै रहीरहे अझै केही दिन धान नकाट्ने सुरु छ उनीहरूको ।

खेतमा धान पाकेर पहेँलै हुँदा पनि मौसमले साथ नदिँदा काट्न सुरु नगरेको शुक्लागण्डकी नगरपालिका–८ लामिताराका किसान दिलबहादुर सुनार बताउँछन् । सुनारले चार सय फाँटमा आठ रोपनी क्षेत्रफलमा धान खेती गरेका छन् । उनी भन्छन्, ‘धान पाकिसकेको छ । केही दिन अझै पानी पर्छ भन्ने सुनिन्छ । मौसम पनि पहिलाको जस्तो खुलेको छैन । कुलोको नजिक छ खेत, नकाटौं भने खोला बढेर आएर डुबाउँछ की भन्ने पिर । काटेर भुँइमा सुकाऊ भने पनि त्यहीँ उम्रन्छ की ! दोधारै दोधार बनाएको छ ।’

पाकेको धान भित्र्याउने बेला बेमौसमी वर्षाले किसानलाई जगजगी बनाएको सुनारले बताए । दिलबहादुरका अनुसार चार सय फाँटमा एकाध किसानले मात्रै धान काट्न थालेका छन् । धान काट्नेले पनि मौसमको भर नहुँदा काटेकै दिन घरमै ल्याएर राख्ने गरेको उनले बताए । विगतका वर्षमा धान काटेर खेतमै साता दिनसम्म सुकाएर बल्ल कुन्युँमा राख्ने पछि गोरुले दाही हालेर धान पराल छुट्टाई भकारीमा थन्क्याउने गरिन्थ्यो ।

जिल्लाको ढोरफिर्दी, मान्द्रेफाँट, साँखे, शेराफाँट, बाह्रबिसे, तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायतका फाँटमा धान खेती हुन्छ । असारमा चैते धान थन्क्याएपछि रोपिएको बाहेक अधिकांश टारी र बेसीका फाँटमा यतिबेला धान पहेँलपुर भएर झुलेको छ ।

भिमादको शेराफाँट र बाह्रबिसे फाँटमा दशैँ लगत्तै झरी नपरेको भए ९० प्रतिशत धान काटेर सकिन्थ्यो । आधा जतिले घरको भकारीमा लगेर धान थन्क्याइसक्थे । तर धान पाक्ने बेलामा परेको दशैँ र दशैँ मनाएर नसक्दै सुरु भएको बेमौसमी झरीले पहेँलपुर धान काट्न पाएका छैनन् ।

मौसमले साथ नदिए पनि केहीले डराई-डराई धान काट्न थालेको भिमाद नगरपालिका–९ कोखेका किसान टिकाराम तिवारीले बताए । ‘निर्धक्क भएर धान थन्क्याउन यस वर्ष मौसमले साथ दिएको छैन । धेरै पाकेर धानको बाला चुँड्ने, गेडा झर्ने, ढल्ने जस्ता समस्या देखिएपछि केहीले जोखिम मोलेरै काट्न सुरु गरेका छन्’, उनी अगाडी थप्दै भन्छन्, ‘लामो झरी हाल्यो, घाम लागे पनि झलमल भइरहेको छ । कति बेला पानी खस्ला भन्ने डर भो । डरै डरमा जे होला होला भनेर पाकेको धान काट्नु परेको छ ।’

झरीले धान काट्न नपाएपछि फाँटै पहेँलपुर हुँदा मौसमले साथ दिए पनि भनेको बेलामा थन्क्याउन नपाइने चिन्ता थपिएको तिवारीले बताए । ‘पहिला पो जसको पाक्छ उसको काट्ने थन्काउने हुन्थ्यो । यसपालि त सबैको पाकेको छ । कसैको काट्न पाइएको छैन । सबैको एकै पटक काट्नुपर्दा खेताला पाउन पनि मुस्किल हुने पक्का छ’, उनले भने ।

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारी यसपालि धान काट्दा किसानले सोचविचार पुर्‍याउनुपर्ने बताउँछन् । विगतका वर्षमा जस्तो एकै पटक धेरै धान काट्ने र केही दिनपछि थन्क्याउने नगर्न किसानलाई उनको सुझाव छ । उनी भन्छन्, ‘दिनभरि काटेको धान त्यही दिन थन्क्याउनुपर्छ । एकै पटक धेरै काट्दा झन् धेरै क्षति हुन सक्छ । मौसम बदली भइरहेको छ, अझ केही दिन पानी पर्न सक्छ ।’

जिल्लामा यसपालि १० हजार ८ सय ९८ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । तिवारीका अनुसार कात्तिकमा भएको बेमौसमी वर्षाले जिल्लाको दुई हजार दुई सय हेक्टर क्षेत्रफल धान खेतीमा आंशिक क्षति पुर्‍याएको छ । ३ प्रतिशत धान खेतीमा क्षति भएको हो । यसले धानको कुल उत्पादनमा १० प्रतिशत ह्रास ल्याउने आकलन गरिएको छ ।

तनहुँमा ११ हजार २ सय ६९ हेक्टर क्षेत्रफल धान खेती गर्न योग्य जमिन हो । जिल्लाका किसानले सावित्री, मकवानपुरे, रामधाान सुख्खा १, सुख्खा २ सँगै हाइब्रिड धान लगाउने गरेका छन् । असारमा मानो रोपेर यतिबेला मुरी धान उब्जाई भकारीमा हालेर वर्ष दिन ढुक्क हुने किसानलाई कात्तिके बेमौसमी झरीले चिन्ताको भारी बोकाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर