थानीमाई मन्दिरमा आज ५५ फूलको डोली भित्रियो — OSNepal

थानीमाई मन्दिरमा आज ५५ फूलको डोली भित्रियो

LC (KTM) October 26, 2021 0

तनहुँ- तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा आज ५५ फूलको डोली भित्रिएको छ । प्रत्येक वर्ष कात्तिक महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् ।कात्तिकको दोस्रो मङ्गलबार ५५ फूलको डोली भित्रिएको हो । डोलीसँगै करिब पाँच हजार भक्तजनले मन्दिरमा पूजाअर्चना गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापामगरले जानकारी दिनुभयो । सोमबार राति ७१ भक्तजनले जागराम बसी बत्ती समेत बालेका थिए । कात्तिकको पहिलो मङ्गलबार १८ फूलको डोली भित्र्याइएको थियो । कात्तिकको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्छ । मन्दिरमा फूलको डोली चढाउँदा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

सोमबार सत्यनारायणको पूजा गरी डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा छ । थानीमाई मन्दिरमा कात्तिकसँगै मङ्सिर र माघमा भक्तजनको भीड लाग्छ । मन्दिरमा फूलको डोली चढाउन छिमेकी जिल्ला गोरखा, लमजुङ, कास्की, चितवन, नवलपरासी, काठमाडौँलगायतबाट भक्तजन आउँछन् । मन्दिरमा साउन महिना, एकादशी र औँसी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।

पछिल्ला वर्षमा थानीमाई पुग्न सडक निर्माण गरिएको छ । सडक निर्माण भएसँगै भक्तजनको सङ्ख्या बढ्न थालेको थापाले बताउनुभयो । भक्तजनले फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरमा नाचगान गर्दै तीन पटक परिक्रमा गर्छन् । परिक्रमापछि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो भाकल पूरा भएको भन्दै पूजा गरिन्छ ।

समुन्द्र सतहबाट एक हजार २०० मिटर उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमश्रृङ्खलाका दृश्य देख्न सकिन्छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको सो मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु ६ लाखको लागतमा उक्त मन्दिर पुनःनिर्माण गरिएको छ । विसं १८२५ देखि सो मन्दिरमा पूजाअर्चना थालिएको स्थानीयवासी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर