कर्णालीमा कोरोना सङ्क्रमितको संख्या पाँच हजार नाघ्यो



कर्णाली, २ कात्तिक- कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या कर्णालीमा पाँच हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा ७०, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दुई, दैलेख अस्पतालमा २३ र चौरजहारी पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँंडेलले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण हुनेमा सुर्खेतका ६३, दैलेखका २३, सल्यान र रुकुमपश्चिमका सातसात, जुम्ला तथा जाजरकोट र कालीकोटका एकएक जना रहेको बताइएको छ । “आज १०३ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमितहरुको कुल सङ्ख्या पाँच हजार १३८ पुगेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो २४ घण्टामा १३४ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्केका छन् ।”

उहाँका अनुसार आज १३४ जनाले कोरोना जितेसँगै अब कर्णालीमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन हजार ८६२ पुगेको छ । कर्णालीका विभिन्न आइसोलेशनमा एक हजार १३२ सङ्क्रमित रहेको उहाँले बताउनुभयो । कर्णालीमा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको मन्त्रालयले जनाएको छ । (रासस)

Comment