पिरिम नलाउनेका गायक आशिष सचिनले दर्शकलाई दशैँको कोशेली स्वरुप गीत ‘पानी बादलु’ दिने



काठमाडौँ । पिरिम नलाउने (दाह्री फुल्यो वैँशैमा), एकान दुईकान मैदान, गलबन्दी पछ्यौरी लगायतका हिट गीतका गायक आशिष सचिन (गौतम)ले दशैँको अवसर पारेर नयाँ गीत पानी बादलु ल्याउने तयारीमा छन् ।

कोरोना महामारीको समयमा पनि आफ्ना फ्यानलाई दशैँ विशेष कोशेलीका रुपमा गायक तथा मोडल आशिषले यसअघिका लोक फ्युजन भन्दा केही भिन्न मोर्डन शैलीमा नयाँ गीतको तयारी गरेको बताए ।

उनले यसअघि बजारमा ल्याएर चर्चा कमाएका पिरिम नलाउने, एकान दुईकान मैदान, गलबन्दी पछ्यौरीले लोक लयमा नै औधी चर्चा कमाइरहेका बेला आउँदो मंगलबार (कात्तिक ४ गते) गायक आशिषले सार्वजनिक गर्ने तयारी गरेको गीत पानी बादलुमा गायक आशिषलाई स्वरमा रेश्मा पुनले साथ दिएकी छिन् ।

लोकप्रिय गीतकार तथा संगीतकार दीपक शर्माको शब्द र संगीत शृजना रहेको गीतको भिडियोमा आशिष सहित अलिसा शर्मा, कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ । रोमान्स, डान्स र कमेडीले भरीएको गीतमा गोलमालका चर्चित कलाकार पवन खतिवडा म्याकुरी र कमेडी च्याम्पियनबाट चर्चा कमाएका हाँस्य कलाकार खड्ग बहादुर पुन मगर खबपुको अभिनय पनि देख्न सकिन्छ ।

जसको निर्देशन गम्भिर विष्टले गरेका हुन् । निर्देशक विष्टकै कोरियोग्राफी रहेको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् । सुप्रिम पराजुलीको सम्पादन रहेको गीतको छायांकन अर्जुन तिवारी र उनको टिमले गरेको हो । जसको मिक्सिगं श्यामश्वेत रसाइलीले गरेका हुन् ।  भिडियो ओएसआर डिजिटलले तयार पारेको हो ।

Comment