आज विजयादशमी, टीकाको साइत १० बजेर १९ मिनेटमा



काठमाडौं । नेपालीहरुको महान पर्व विजयादशमीको मुख्य दिन आज । आज भगवान् दुर्गापक्षको मुख्य दिन । आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर कोरोना कहरकाबिचमा पनि दशैँ पर्व देशभर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।

विजयादशमीको टीकाको शुभसाइत बिहान १० बजेर १९ मिनेटमा जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । अध्यक्ष गौतमका अनुसार टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्नेछ भने चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुनेछ ।

मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दशदिनसम्म मनाइने यो बडादशैँ पर्व धार्मिकमात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ । तर यो वर्ष कोरोना कहरका कारण सामाजिक दुरी कायम गर्दै कम भिडभाड गरेर यो महान पर्व मनाउनका लागि सरकारले नागरिकलाई अपिल गरेको छ ।

Comment