महात्मा गान्धी क्रेज : बिग्रिएको घडी समेत १२ हजार पाउन्डमा बिक्यो



चाँदीको जलप लगाइएको स्वीस घडी गान्धीले लिलाम बढाबढमा बिक्री गर्न ल्याएका व्यक्तिका हजुरबुवालाई “धन्यवाद स्वरूप” दिएका थिए
कुनै समय महात्मा गान्धीले “लगाएको र बिग्रिएको” घडी १२ हजार पाउन्ड (झण्डै अठार लाख रुपैयाँ)मा बिक्री भएको छ।

चाँदीको जलप भएको स्वीस घडी अहिले घडीको स्वामित्व भएका व्यक्तिको हजुरबुवालाई गान्धीले सन् १९४४ मा “उनको समर्पणका लागि धन्यवाद स्वरूप” दिएका थिए।लिलामीकर्ता एन्ड्र्यू स्टोले शुक्रवार इस्ट ब्रिस्टल अक्सनमा १० हजार पाउन्ड प्राप्त गर्ने आशा राखेका थिए।

स्टोका अनुसार घडी किन्ने व्यक्ति अमेरिकाका एकजना निजी सङ्कलक हुन्।यसअघि गान्धीले लगाएको ठानिएको चस्माको लिलामी भएको थियो। गत अगस्टमा लिलामी भएको उक्त चस्मा २ लाख ६० हजार पाउन्डमा बिक्री भएको थियो।

गान्धीको घडी

स्टोले “विगतका केही महिना रफ्तारपूर्ण” भएको र घडीको बिक्री “अर्को राम्रो परिणाम” भएको बताए।”गत अगस्टमा चस्मा आश्चर्यजनक मूल्यमा बिक्रीपछि गान्धीका अन्य सामग्रीहरू बिक्रीका अनुरोधहरू आएका छन्,” उनले भने।”ती सामग्रीहरूमा सिक्का र तस्बिरहरू थिए। अनि उनको यो घडी आइपुग्यो र हामीलाई लाग्यो ‘क्या गज्जब’ भयो।”

इतिहासको टुक्रा’

उक्त घडी कुनै बेला गान्धीका समर्थक रहेका सिकर्मी मोहनलाल शर्माको थियो। सन् १९३६ मा, उनी नागरिक अधिकारबादी नेता गान्धीलाई भेट्न र उनलाई सघाउन गएका थिए।

त्यतिबेला उनको समर्पणका लागि धन्यवादस्वरूप गान्धीले सन् १९४४ मा आफ्नो घडी दिएका थिए। र, त्यसको स्वामित्व क्रमश: मा उनका नातिकहाँ आइपुग्यो।”यो इतिहासको एउटा अविश्वसनीय वस्तु हो र यो लगाइएको र फुटेको हुनाले महत्त्व थपिएको छ,” स्टोले भने।

“यो घडी धेरै वर्ष गान्धीले लगाएका थिए भनेर सोच्दा र त्यसपछि उनका एकजना निकटका साथीलाई दिइएको थियो र जसले त्यसलाई त्यति नै महत्त्व दिएर जोगाए भन्ने तथ्य अदभूत छ।” यो समचार बिबिसी नेपाली सेवाबाट साभार गरिएको हो ।

Comment