बेलायतका रमणीय स्थलहरुमा छायांकन गरिएको सुन्दरी दिप्ताको ‘यो जिन्दगी’को चर्चा, हेर्नुहोस् भिडियो



काठमाडौँ । बेलायतमा नेपाली चेली दिप्ता थापाको पहिलो म्युजिक भिडियो “यो जिन्दगी“ सार्वजनिक गरिएको छ । उक्त म्यूजिक भिडियोको बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा वहादुर सुवेदीले विमोचन गरेका हुन् । विमोचन गर्दै राजदूत सुवेदीले यस गीतमा प्रयोग भएका शव्दहरु निकै मार्मिक भएकोे भन्दै गीतका सर्जक तथा लेखक सन्जीत देउजा तथा लय शब्द, अरेन्ज गर्ने सबै कलाकारहरु प्रति बधाई सहित धन्यवाद दिए ।

गायिक दिप्ताका पिता दिपक थापाको परिवारले वंशाणुगत विरासत नै पाएको भन्दै उहाँको संगीत कर्मको धेरैले मुक्तकण्ठले प्रशंसा गर्ने गरेको बताए । थापा बेलायतमा नेपाली गीत संगीत तथा संस्कृतिको एक अब्बल स्रष्टा तथा उत्तराधिकारी रहेको उनको भनाई छ ।
त्यसैगरी गायिका दिप्तालाई शुभकामना दिदै उनले मेधावी प्रतिभाको रुपमा स्थापित हुनेमा विश्वास व्यक्त गर्दै नेपालकी छोरी बनाउने दिपक दम्पतीलाई बधाई समेत दिए ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले बेलायतको भूमिमा रहेर मातृभाषामा यो गीत तयार गरेको थाहा पाउँदा आफु सबैको पहिचान उचो भएको भन्दै आगामी दिनमा पनि यसैगरी अघि बढ्न सुझाव दिइन् । यस गीतले दिप्तालाई चर्चाको शिखरमा पुर्याउनेमा उनले विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै बेलायती नागरिक तथा कला प्रेमी डि मेरी जोसले पनि कलाकार दिप्ताको स्वरको खुलेर प्रशंसा गरेकी थिइन् । डाटफोड समाज यूकेका अध्यक्ष गजेन कटुवालले नया पुस्ताहरुले यस प्रकारको पहिचान स्थापना गर्दा अभिभावकहरुलाई गर्वको महसुस हुने बताए । यूकेमा बीबीसी मास्टर सेफको सेमिफाइनल प्रवेश गर्ने पहिलो नेपाली सेफ सन्तोष शाहले पनि शुभकामना दिदै आफु पनि बेलायतमा नेपाल र नेपालीलाई चिनाउने गरी बीबीसी कार्यक्रममा खाना पस्केको बताए ।

दिप्ता थापाको स्वर रहेको गीतमा शिखर सन्तोषको संगीत, सन्जीत देउजाको शब्द सिर्जना रहेको छ । दिप्ताका पिता दिपक थापाले बजारमा ल्याएको उक्त गीतमा कोरियोग्राफरको भूमिका दिप्ताकै आमा सुनिता गौतमले गरेकी छन् । नविन निरौलाले कलर गरेको भिडियोको छायाङ्कन, एडिट र निर्देशन बेलायतका कुशल सञ्चारकर्मी तथा निर्देशक कुशल श्रेष्ठले गरेका छन् । उक्त अवसरमा देश विदेशमा रहेका नेपाली विभिन्न संघसंस्था, कलाकार आफन्तजन एवं कलाप्रेमीहरुले गायिका थापालाई शुभकामना दिएका थिए ।

विदेशी भूमिमा रहेर पनि दिप्ताले प्रस्तुत गरेको उक्त भिडियोले नया पुस्तालाई पनि नया सन्देश दिनुका साथै कला र संस्कृतिको संरक्षणमा आफु जुन ठाँउमा रहेपनि योगदान दिन सकिने कुरा स्पष्ट भएको कलाप्रेमी अगुवाहरुले बताएका छन् ।
उक्त कार्यक्रम लण्डन नेपाल न्यूज मार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो भने पहिरो चरणको कार्यक्रमको सञ्चालन डाटफोड समाज यूकेका अध्यक्ष गजेन कटुवाल तथा दोस्रो चरणको सञ्चालन एनआरएनए यूकेका सचिव तथा कुशल सञ्चालक जित रानाभाटले गरेका थिए ।

Comment