छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण र रेबिजविरुद्धको भ्याक्सिन — OSNepal

छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण र रेबिजविरुद्धको भ्याक्सिन

LC (KTM) November 01, 2021 0

ओखलढुंगा, १५ कात्तिक-सिद्धिचरण नगरपालिकाले छाडा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण थालेको छ । छाडा कुकुरले खसी बाख्रा खाने र मान्छे टोक्न थालेपछि नगरपालिकाले नियन्त्रणका लागि बन्ध्याकरण सुरु गरेको हो ।

पशु अधिकारका दृष्टिले मार्न नहुने भएपछि भाले तथा पोथी दुवै खाले छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको सिद्धिचरण नगरपालिकाका पशु शाखा प्रमुख प्रमित मगरले जानकारी दिए ।

हर्ट नेपालसँगको सहकार्यमा गत वर्षबाटै यो अभियान थालिएको र प्रभावकारी देखिएकाले यो वर्ष पनि छाडा कुकुर बन्ध्याकरण गरिएको उनले बताए । उनले भने, ‘बन्ध्याकरण र खोप लगाएपछि कुकुर सुधो बन्ने, हत्तपत्त नटोक्ने, बच्चा नजन्माउने र जथाभाबी नहिँड्ने भएकाले बन्ध्याकरण तथा खोप लगाउन थालिएको हो ।’

दुई सय छाडा कुकुरलाई हालसम्म बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाइएको छ । छाडा कुकुरले गतवर्ष मात्रै सदरमुकाम आसपासका किसानका दुई दर्जनबढी खसी बाख्रा मारेको थियो । सडकमा हुलै बाँधेर हिँड्ने र मोटरसाइकल तथा पैदल यात्रीलाई लखेटेर टोक्ने भएकाले बिहान बेलुका हिँडडुलमा जोखिम थियो ।

कुकुरको आतंक कम गर्न बन्ध्याकरणले योगदान पुगेको स्थानीय श्याम श्रेष्ठले बताए । दिनरात हुल बनेर हिँड्ने कुकुर निकै कम भएको उनले सुनाए । मार्न नमिल्ने भएकाले साझेदार संस्था हर्टसँग मिलेर वैकल्पिक उपाय खोजिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका सूचना अधिकारी नइन्द्रराज राईले गत वर्ष र यो वर्षको बन्ध्याकरणले कुकुर नियन्त्रणमा ठूलो योगदान पुग्ने बताए । सदरमुकाम क्षेत्र मात्रै नभई गाउँ टोलसम्मै छाडा कुकुरको आतंकले स्थानीय हैरान छन् । अन्य स्थानीय तहले पनि यस्ता अभियान चलाउनु पर्ने माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर