आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट : न्युजिल्यान्ड सेमिफाइनलमा, भारत बाहिरियो — OSNepal

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट : न्युजिल्यान्ड सेमिफाइनलमा, भारत बाहिरियो

LC (KTM) November 07, 2021 0

काठमाडौं, २१ कात्तिक – न्युजिल्यान्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सुपर-१२ को समूह-२ मा अफगानिस्तानलाई आठ विकेटले पराजित गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।

न्युजिल्यान्डको यस जितसँगै उपाधी दाबेदार मानिएको भारत भने विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । लगातार चार खेल जित्दै समूह-२ बाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ ।

न्युजिल्यान्डले १२५ रनको लक्ष्य १८ ओभर एक बलमा दुई विकेट गुमाएर पुरा गर्‍यो । न्युजिल्यान्डको जितमा कप्तान केन विलियम्सनले सर्वाधिक ४० रन जोडे । डेभोन कोनवेले ३६ रनको योगदान गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२४ रनको योगफल तयार पार्‍यो । अफगानिस्तानका नजिबुल्लाह जदरनले सर्वाधिक ७३ रन जोडे । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले सर्वाधिक तीन विकेट हात पारे । यता, समूह एकबाट भने इंग्ल्यान्ड र अष्ट्रेलिया ​पनि सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर