कांग्रेस खोटाङको सभापतिमा भुपेन्द्र राईको उम्मेद्वारी — OSNepal

कांग्रेस खोटाङको सभापतिमा भुपेन्द्र राईको उम्मेद्वारी

LC (KTM) November 13, 2021 0

खोटाङ, २७ कात्तिक – अधिवेशन मिति नजिकिँदै जाँदा खोटाङमा नेपाली कांग्रेसको जिल्ला सभापतिका लागि धमाधम उम्मेद्वारी घोषणा सुरु भएको छ । केही आकांक्षीले औपचारिक र अनौपचारिक रुपमा जिल्ला सभापतिमा उम्मदेवारी घोषणा गरिसकेको अवस्थामा महाधिवेशन प्रतिनिधि भुपेन्द्र राईले आगामी ६ मंसिरमा हुने जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा उठ्ने घोषणा गरेका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका राईले शुक्रबार खोटाङ बजारमा भएको आफू पक्षीय नेता तथा कार्यकर्ताको भेलाबाट जिल्ला सभापतिमा उठ्ने घोषणा गरेका हुन् । उनी केन्द्रमा कृष्ण सिटौलासँग नजिक मानिन्छन् । राईको टिमबाट उपसभापतिमा चन्द्रबहादुर थापा, सह–सचिवमा ध्यानबहादुर राई, प्रदेश क्षेत्र (ख)को सभापतिमा चण्डीकुमार राई, उपसभापतिमा रामचन्द्र केसीलाई उठाउने तयारी गरिएको कांग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिका सभापति अमृत गिरीले बताए । अन्य पदमा उठ्ने उम्मेद्वारको टुंगो केही दिनभित्र टुंग्याइने जनाइएको छ ।

२३-२४ कात्तिकमा हलेसीमा बसेको कांग्रेसकै एक पक्षको बैठकले पूर्वजिल्ला सभापति विष्णुकुमार राईलाई सभापतिको उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ । उनी केन्द्रमा पौडेलसँग नजिक मानिन्छन् । उपसभापतिमा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति एवं हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तीर्थराज भट्टराईलाई अघि सार्ने निर्णय भएको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

सचिवमा वर्तमान सचिव ज्ञानेन्द्र जोशी र समिर राईलाई उठाउने तयारी गरिएको छ । सचिवका अर्का आकांक्षी सुमनबाबु आचार्य ‘ब्याक’ भएका छन् । यस्तै, सह-सचिवमा सार्जन राई र बराहपोखरी गाउँपालिकाका अध्यक्ष रहेका शालिकराम बञ्जरालाई अघि सार्ने तयारी गरिएको जनाइएको छ । तर, सचिव र सह-सचिवको उम्मेद्वारका विषयमा थप छलफल भइरहेको उपसभापतिका उम्मेद्वार इवन राईले बताए ।

कांग्रेसको जिल्ला सभापतिमा पूर्वराज्यमन्त्री सर्वधन राई र महासमिति सदस्य रवीप्रकाश राई पनि आकांक्षी छन् । पूर्व राज्यमन्त्री राईले यसअघि आयोजित पत्रकार भेटघाट कार्यक्रममा सभापतिको उम्मेद्वारीबाट व्याक नहुने बताएका थिए । प्रदेश क्षेत्र (क) र (ख)को अधिवेशनको नतिजाअनुसार जिल्लाको समीकरण फेरबदल हुनसक्ने आंकलन गरिएको छ ।

क्याप्सन : आफू पक्षीय भेलामा बोल्दै कांग्रेस जिल्ला सभापतिका उम्मेद्वार भूपेन्द्र राई । तस्बिर सौजन्य : बाजिन्द्र बिष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर