आज थप २९५ कोरोना सङ्क्रमित थपिए, दुई जनाको मृत्यु — OSNepal

आज थप २९५ कोरोना सङ्क्रमित थपिए, दुई जनाको मृत्यु

LC (KTM) November 13, 2021 0

काठमाडौँ, २७ कात्तिक-पछिल्लो २४ घण्टामा २९५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनमा आठ हजार २४३ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित सात हजार २७८ जना रहेको मन्त्रालयले जनाएको छ । नेपालमा सङ्क्रमण दर १८.२ प्रतिशत पुगेको छ । पाँच सय बढी सङक्रमित भएको एक मात्र जिल्ला ललितपुर छ । दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १० छन् । ती जिल्लामा मोरङ, सुनसरी, धनुषा काठमाडौँ, भक्तपुर, कास्की, पूर्वी नवलपरासी, रुपन्देही, बाँके र कैलाली रहेका छन् ।

दुई जिल्लामा शून्य-हुम्ला र मुगुमा सङ्क्रमित सङ्ख्या शून्य रहेका छन् । पछिल्लो २४ घण्टामा ४७८ जनाले कोरोना भाइरसको सङ्क्रमणमुक्त भई फर्किएका छन् । योसँगै हालसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९७ हजार ९२६ जना रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत छ ।

आज कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट ११ हजार ४७१ जनाको मृत्यु भएको छ । होम आइसोलेशन छ हजार ७५२, संस्थागत आइसोलेशनमा ५२६ जना, सघन उपचार कक्षमा १९३ र भेन्टिलेटरमा ५७ जना रहेका छन् ।

चौतीस हजारले खोप लगाए -यस्तै आज ३४ हजार ७१६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । आज लगाइएको खोपसँगै अहिलेसम्म ८८ लाख २४ हजार ८१५ जनाले पहिलो मात्रा र ७५ लाख ४१ हजार २६७ जनाले पूर्ण मात्राको खोप लगाएका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर