बाँकेमा कांग्रेसको वडा अधिवेशन प्रक्रिया सुरु, आइतबार मतदान — OSNepal

बाँकेमा कांग्रेसको वडा अधिवेशन प्रक्रिया सुरु, आइतबार मतदान

LC (KTM) November 13, 2021 0

नेपालगञ्ज, २७ कात्तिक – क्रियाशील सदस्यता विवादमा रोकिएको नेपाली कांग्रेस बाँकेको १४औं महाधिवेशनअन्तर्गतको वडा अधिवेशनको कार्यक्रम शनिबारदेखि सुरु भएको छ ।

बाँकेका ८१ वटै वडामा शनिबारबाट औपचारिक रूपमा निर्वाचन कार्यक्रम सुरु भएको प्रमुख निर्वाचन अधिकृत रेवती रमण भट्टराइले जानकारी दिए । उनले निर्वाचन स्थलमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतले औपचारिक रूपमा निर्वाचन कार्यक्रम सुरु गरिसकेको बताए ।

प्रमुख निर्वाचन अधिकृत भट्टराईका अनुसार बाँकेका ८ वटै स्थानीय तहका ८१ वटा वडामा एक जना मतदान अधिकृत र दुई जना सहायक मतदान अधिकृत परिचालित भएका छन् । शनिबार बिहान १० बजे ८१ वटै वडाका मतदान केन्द्रमा प्रथम मतदाता नामावली प्रकाशन गरिएको थियो ।

सोही प्रकारले बिहान ११:१५ बजे संशोधनपछि मतदाता नामावली प्रकाशन भएको छ । यसैगरी बिहान ११:२० देखि ३ बजेसम्मका लागि उम्मेदवारी मनोनयन गर्ने समय तोकिएको थियो । आजै दिउँसो ३:५० बजे प्रथम उम्मेदवारको नामावली प्रकाशन, दिउँसो ३:५५ देखि ४ बजेसम्म उम्मेदवारमाथी विरोध संशोधन गरिनेछ ।

निर्वाचन कार्यक्रम अनुसार दिउँसो ४ बजे उम्मेदवारको दाबी विरोधपछिको संशोधित नामावली प्रकाशन, ४:५० बजेदेखि ६ बजेसम्म उम्मेदवारी फिर्ता, बेलुका ६:३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, कात्तिक २८ गते आइतबार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान र मतदान पश्चात् गणना तथा मत परिणाम घोषणा गरिने कार्यक्रम तय भएको छ ।

बाँकेको वडादेखि जिल्ला तहसम्मको संशोधित निर्वाचन तालिका अनुसार कात्तिक २८ गते वडा, मंसिर १ गते पालिका, मंसिर ४ गते प्रदेश सभा, मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिल्लाको निर्वाचन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर