OSNepal शनिबार, मंसिर १८ २०७८

गाउँको मुहार फेर्दै बेलडाँडीका पौरखी महिला

गाउँको मुहार फेर्दै बेलडाँडीका पौरखी महिला

  • OSNepal
  • आइतबार, कार्तिक २८ २०७८


गाउँको मुहार फेर्दै बेलडाँडीका पौरखी महिला
Reading Time: 3 minutes

कञ्चनपुर, २८ कात्तिक – महिलाले घरको चुलोचौका र मेलापात गर्नुपर्छ । घरको काम गरे पुग्छ भन्ने धारणालाई शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका महिलाले अन्त्य गरिदिएका छन् । दशकअघिदेखि समूहमा आवद्ध भई बचत गर्न थालेका उनीहरुले कलस महिला कृषि सहकारी संस्था सञ्चालन गरी सङ्गठितरूपमा अगाडि बढ्न थालेका छन् ।
सहकारीको सञ्चालक समितिदेखि कर्मचारीसम्म महिला छन् । सहकारीमा गाउँका ८३ महिला आवद्ध छन् । मासिकरूपमा रकम बचत गरी आयआर्जनका कार्यक्रममा लगानी गरी अर्थोपार्जन गर्ने कार्यदेखि समाज सुधारका कार्यमा महिलाले अग्रस्थानमा रहेर कार्य गर्दै आएका छन् । विकास निर्माणका काममा श्रमदान गर्ने र समाजमा देखिएका विकृति– विसङ्गतिविरुद्ध सचेतना छर्ने कार्यमा एकापसमा छलफल गरी महिलाहरूले सहभागिता जनाउँदै आएका छन् ।

“महिलालाई पहिला घरभित्रको भूमिकामै सीमित राखिँदै आएको थियो”, सहकारीका अध्यक्ष मीनादेवी डगौराले भन्नुभयो, “अधिकांश समय घरकै काममा व्यस्त हुँदा समाजमा महिलाको भूमिका नगन्य हुन्थ्यो । पुरातन सोचले ग्रसित मान्यतालाई तोडदै गाउँमै समूह बनायौँ । समूह बनाउँदा महिलाले के नै गर्न सक्लान् भनेर नानाथरी कुरा सुन्नु पर्दथ्यो । त्यसको बेवास्ता गर्दै अगाडि बढ्दै गयौँ ।”उहाँले भन्नुभयो, “पालैपालो बोल्ने नियम बनाई समाजका अगाडि उभिन सक्ने भयौँ । बोल्न सक्ने भयौँ । त्यसपछि अधिकारका लागि सङ्गठित भई समाजमा नेतृत्वदायी भूमिका खोज्न थाल्यौँ । त्यसका लागि नाइनास्ती गर्ने कार्य हुन्थ्यो । एकजुट भएर आवाज बुलन्द गर्दा अहिले महिलाले पनि समाजका लागि केही गर्न सक्छन् । त्यसका लागि भूमिका दिनुपर्छ भन्ने भावना पैदा भएको छ ।”

विद्यालय व्यवस्थापन समिति र सामुदायिक वनको उपभोक्ता समितिमा सहभागिता गराउन थालिएको उहाँले बताउनुभयो । गाउँको विकासका लागि आउने बजेटका लागि महिला वडा र नगरपालिका कार्यालयसम्म गएर वकालत गर्दै आएका छन् । गाउँमा हुने सांस्कृतिक, सामाजिक र विकास निर्माणमा अहिले महिला नै अग्रस्थानमा देखिने गरेका छन् ।
सहकारीले आत्मनिर्भर बनाउँदै -समूहलाई महिलाहरूले सहकारीमा परिणत गरेको तीन वर्ष पुगेको छ । सहकारी विधिवतरूपमा दर्ता गरी सञ्चालन भएपछि महिलाहरूले कृषिलाई आधुनिकीकरण गरी बेलडाँडी गाउँको परिचय नै फेरेका छन् । महिलाले बेलडाँडीलाई तरकारी खेती हुने गाउँका रूपमा परिचित गराएका छन । व्यावसायिक तरकारी खेती गर्नका लागि महिलाहरूले तालिम लिएका छन् ।

अन्न उत्पादन गर्दा वर्षभरि खान नपुग्ने खेतमा तरकारी उत्पादन हुन थालेको छ । खेतमा उत्पादन भएको तरकारी बेचेर महिलाहरूले वर्षभरि खानका लागि अन्नको जोहो मात्रै गर्दैनन् । श्रीमान्को पकेट खर्चसमेत धान्ने गरेका छन् । मौसमी र बेमौसमी तरकारी खेती गरेर आउने आम्दानीको रकम महिलाहरूले घर खर्च, बालबालिकाको विद्यालयको खर्चसँगै भविष्यका लागि रकम बचतसमेत गर्न थालेका छन् ।

महिलाहरूले तरकारी रोप्ने, स्याहार्ने, रोग किरा नियन्त्रण गर्ने कार्यसँगै बजारमा लगेर बेच्ने कार्यसमेत गर्दै आएका छन् । महिलाहरूको कार्यमा परिवारका अन्य सदस्यले समेत सघाउने गरेका छन् । “पहिला घरको कमाउने श्रीमान्मात्रै हुन्थे”, सहकारीका सचिव रुपाकुमारी चौधरीले भन्नुभयो, “मजदुरी गरेर ल्याइने रकममा पूरै परिवारको खर्च धान्नुपर्ने अवस्था थियो ।

हाल व्यावसायिक तरकारी खेतीमा संलग्न भएपछि परनिर्भरताको अन्त्य भएको छ । श्रीमान्लाई हाल तरकारी बिक्री गरेर आउने रकममध्ये केही हामीले पटेक खर्चका लागि दिने गरेका छौँ । पहिला महिलाले कमाएको रकम लिन हिचकिचाउँथे । अहिले त्यसलाई सहजरूपमा स्वीकार गर्दै आएका छन् ।”

सहकारीमा आवद्धमध्ये ४० तरकारी खेती, १० आलु खेतीमा, १५ विजबृद्धि, पाँच कुखुरापालनमा, दुई बङगुरपालनमा र दुई जना बाख्रपालनमा गरी ६४ महिला व्यावसायिक कार्यमा संलग्न छन् । व्यावसायिक कार्यमा संलग्न महिलालाई सहकारीबाट सहुलियत ब्याजमा आव २०७७÷७८ मा रु छ लाख २७ हजार रकम लगानी गरेका छन् ।

कृषि तथा सिँचाइ अनुदानवापत रु १३ लाख ३३ हजार १२५ रकम व्यावसायिक कृषि कार्यमा संलग्न महिलालाई उपलव्ध गराइएको छ । तरकारी खेतीका लागि टनेल निर्माणका लागि रु एक लाख एक हजार ४२६ रकम अनुदानस्वरुप उपलव्ध गराइएको छ । विजवृद्धिमा लागेका महिलालाई धान सुपरजोन कार्यक्रममार्फत रु १० लाख ७३ हजार ९३६ रकम उपलब्ध गराइएको छ । अनुदानको रकमबाट पावरटिलर, स्प्रे ट्याङ्की, मल्चिङका लागि प्लाष्टिक खरिद, सिँचाइका लागि बोरिङ जडानलगायतका कार्य गरिएको सहकारीका सचिव रुपाकुमारीको भनाइ छ ।

कृषि कार्यका लागि गोरुको प्रयोग हुने ठाउँमा हाल पावरटिलरले खेत जोत्ने कार्य हुँदै आएको छ । सहुलियरूपमा व्यावसायिक कृषि कार्यमा संलग्नलाई सघाउ पु¥याउन रु दुई लाख ८५ हजार २६५ रकम खर्चेर रासायनिक मल घरदैलोमै उपलब्ध गराइएको सहकारीका उपाध्यक्ष सीमा चौधरीले बताउनुभयो ।

महिलाहरूले प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारी ब्लकका कार्यक्रमसमेत सञ्चालन गरेका छन् । महिलाहरूले पाँच कठ्ठादेखि डेढ बिघा खेतमा तरकारी खेती गरेका छन् । यस वर्षको हिउँदे तरकारी बाली रोप्ने बेला परेको बेमौसमी वर्षाले तरकारीका बिरुवा नै सखाप पारेपछि महिलाहरूले दोस्रोपटक तरकारी रोपेका छन् ।

आगामी योजनामा महिलाले सहकारीको भवन निर्माणका लागि रु ५० लाख र तरकारी ढुवानी गर्ने साधन खरिदका लागि रु ३० लाख बजेट प्रस्ताव गरेका छन् । आर्थिक स्रोत जुटाउनका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव लैजान लागेको सहकारीका पदाधिकारी महिलाहरूको भनाइ छ । वडाध्यक्ष बहादुरसिंह महरा महिलाहरूले गरेको कार्यको सरहाना गर्न थाक्नुहुन्न । घरभित्रको पर्खाल तोडेर महिलाले नेतृत्वदायी भूमिका खेलेर पूरै गाउँलाई आत्मनिर्भरतातर्फ डोहो¥याउन मुख्य भूमिका खेलेको बताउनुहुन्छ । महिलाहरुलाई प्रोत्साहन गर्नका लागि नगरपालिकाबाट समेत कार्यक्रम सञ्चालन गराउनका लागि दबाब दिने उहाँको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड